नाटकीय लिभरपुल

काठमाडौं। लिभरपुलले फेरि अन्तिम क्षणमा गोल गर्दै प्रिमियर लिगको शीर्ष स्थान फर्किएको छ।
गत वर्षको च्याम्पियन टोली मोहम्मद सलाहको पेनाल्टी गोलमार्फत यस सिजनको शतप्रतिशत जितको यात्रा कायम राख्न सफल भयो।
‘हामी कहिल्यै हार मान्दैनौं। हामी आफैंलाई र टिमलाई अन्तिम सीमासम्म धकेल्छौं,’ सालाहले स्काई स्पोर्ट्ससँग भने। यसअघि बोर्नमाउथ र न्युक्यासलविरुद्ध अन्तिम क्षणमा गोल गर्दै जित हात पारेको लिभरपुलले बर्न्लीविरुद्ध टर्फ मोरमा फेरि नाटकीय जित निकाल्यो।
आर्ने स्लटको टोली यस सिजन पहिलो पटक अंक गुमाउने अवस्थामा थियो। तर, इन्जुरी समयमा ह्यान्निबल मेजब्रीले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि रेफ्री माइकल ओलिभरले पेनाल्टी दिए।
त्यसपछि सलाहले शक्तिशाली प्रहार गर्दै गोल गरे र उत्सव मनाउँदै दौडिए। सलाहको गोल खेलको इन्जुरी समयको पाँचौं मिनेटमा आएको थियो। यससँगै उनले प्रिमियर लिग इतिहासमा चौथो सर्वाधिक गोलकर्ता बन्ने व्यक्तिगत कीर्तिमान कायम गरे। उनको कुल गोल १८८ पुगेको छ, जसमा उनी एलन शियरर (२६०), ह्यारी केन (२१३) र वायन रुनी (२०८) पछि परेका छन्।
लिभरपुलको यो ढिलो खुसी बर्न्लीका लागि भने फेरि पीडामा बदलियो। यसै सिजन बढुवा भएकव बर्न्लीले अघिल्लो खेलमा म्यानचेस्टर युनाइटेडसँग ३–२ को हार बेहोरेको थियो।