विक्रमसँगै सन्न्यास लिएको नेपाली फुटबल

काठमाडौं। काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र च्यासल मैदानमा आजकल शून्यता छ। यी दुई खेल मैदानमा न त दर्शक देखिन्छन् न खेलाडीले पसिना चुहाउनेगरी अभ्यास गरिरहेको नै देखिन्छ।
मैदानमा गुञ्जिने हुटिङको चर्को आवाज अहिले काठमाडौं घामजस्तै हराउँदै गइरहेको छ। अनि खेलाडी पनि त्यसरी नै। त्यसैको एक उदाहरण हुन्, विक्रम लामा।
उनी एक समय नेपालका बलियो डिफेन्डर थिए। अहिले फुटबल खेलाडी संघको अध्यक्ष बनेका छन्। उनीसँग भेटिँदा उनको कुरा अझै मैदानबाट नै सुरु हुन्छ। तर, उनको सुस्त बोलीमा उनीसँगै खेलेका खेलाडीको पीडा मिसिएको हुन्छ।
उनले सन्यास लिएको दुई वर्ष दुई महिना भइसकेको छ। तर, उनले कुरा सुरु गर्दा उनको सन्न्याससँगै फुटबलले नै सन्न्यास लिएको जस्तो भान हुन्छ।
उनले सन्न्यास लिएको यो २६ महिना नेपालमा शीर्ष डिभिजनको घरेलु फुटबल लिग भएको छैन। यसले सयौं खेलाडी बेरोजगार भएका छन्। लामा भन्छन्,‘३०० मात्र होइन, ९००–११०० खेलाडीहरू बेरोजगार छन्। लिग नियमित हुँदा उनीहरूले व्यावसायिक फुटबल खेल्न पाउँथे, परिवार पाल्थे। अहिले भने उनीहरूलाई जीविकोपार्जन गर्नै समस्या छ।’
‘ए’, ‘बी’, ‘सी’ र त्यसपछि छनोट प्रतियोगिताहरू एउटै वर्षमा आयोजना हुनुपर्ने हो। यो भएमात्रै फुटबलको पिरामिड पूरा हुन्छ। तर, अहिले त्यो पिरामिड नै टुक्राटुक्र भएको छ। ‘ए’ डिभिजन लिग नभएको २६ महिना भइसकेको छ। ‘बी भने ४ वर्षमा बल्लतल सकिएको छ। त्यसअघि ‘सी’ डिभिजन भइसकेको थियो। तर, अहिले ‘ए’ र ‘सी’ डिभिजन छनोट भने अन्योलमै छ।
त्यसले गर्दा नेपाली क्लब एएफसीका प्रतियोगिताबाट बञ्चित हुन थालेका छन्। खेलाडीहरूका जीवन क्यालेन्डरसँग होइन, अनिश्चितताको भुमरीसँग बाँधिन थालेको छ। लामा भन्छन्,‘यो विश्व फुटबलको अभ्यास होइन। यो त हाम्रै सिस्टमको कमजोरी हो। हामीले स्वीकार्नै पर्छ।’
यसको असर कहाँसम्म पुगेको छ भन्ने लेखाजोखा अखिल नेपाल फुटबल संघ (एन्फा) सँग छैन। तर, खेलाडीसँग भने प्रष्टै छ। अहिले खेलाडीहरूको तलब रोकिएको छ। क्लबहरूको संरचना अस्तव्यस्त छ।
राष्ट्रिय टोली पहिलाभन्दा धेरै कमजोर बनिरहेको छ। यो टोली बनाउन पनि ओपन ट्रायलको भर पर्नुपर्ने अवस्था आइसकेको छ। अहिलेका यी परिणाम नै लिग नहुँदा उपब्जिएको समस्याको गतिलो प्रमाण हो।
फुटबल नभएपछि खेलाडी विदेश पलायन भइरहेका छन्। कतिपय अस्ट्रेलिया छन् त कति खाडी र युरोपमा। कोही विद्यार्थी बनेर जान्छन्, कोही अरु काम गर्ने बाहनामा। कोही भने खेलाडीको नाममा विदेशमा छन्। तर, वास्तविकता भने त्यस्ता खेलाडीका पाइला फुटबलबाट टाढिसकेका छन्।
लामा भन्छन्,‘घरेलु फुटबल निरन्तर भएको भए पलायन केही भए पनि यो स्तरमा पुग्दैनथ्यो। धेरै खेलाडीहरूले आफ्नो सपना नेपालमै पूरा गर्न सक्थे।’
अहिलेको विडम्बना के छ भने राष्ट्रिय टोलीका खेलाडीहरू भारतको स्वतन्त्रता दिवसको अवसर पारेर आयोजना हुने आमन्त्रण प्रतियोगितामा खेप हान्न जानुपर्ने बाध्यता छ। मैदानमा घाँस हुँदैन। बालुवा र माटोले बनेको मैदान हिलाम्मे हुन्छ। त्यहाँ न त खेल सुरक्षित हुन्छ, न वातावरण नै।
तर, बाध्यता कै कारण खेलाडी जोखिम मोलिमोली भारत जान्छन्। तर, रोक्ने कोही छैनन्। ‘हामीले खेलाडीलाई नखेल्नुस् भन्ने भन्दा पनि नेपालमै खेल्ने वातावरण बनाइदिनुस् भन्ने मात्रै हो,’ लामा थप्छन्।
तर, यो प्रश्न उठ्छ— यस्तै खेलाडीको आवाज उठाइदिन भनेर खोलिएको खेलाडी संघले चाहिँ यतिन्जेल के गर्यो त? यो संघलाई ज्ञापनपत्र बुझाउने, फेसबुकमा स्टाटस हाल्ने र राजनीति गर्ने मात्रै आरोप लाग्छ। लामा त्यसमा असहमत देखिन्छन्।
उनी भन्छन्,‘हामीले हाम्रो कार्यक्षेत्रमा कहिल्यै कमी कमजोरी राखेका छैनौं। खेलाडीको हितमा जे गर्न सकिन्छ शालीनताका साथ गरिरहेका छौं। तर, हाम्रो अधिकारको सीमा पनि हुन्छ। त्यस पारको कुरा हाम्रो पहुँचमा छैन।’
यस्तो असहायतालाई बुझ्न गाह्रो छैन। एक खेलाडीको जीवन १०–१५ वर्षमै सीमित हुन्छ। त्यही अवधिमा उसले आफ्नो जीवन सुरक्षित बनाउनुपर्ने हुन्छ। तर, नेपालमा त्यो सन्दर्भमै दुई वर्षभन्दा बढी समय खेल रोकिँदा भविष्य नै अन्धकार बनिरहेको छ।
कतिपयले त घर धान्न नयाँ काम सुरु गरिसकेका छन्। कोही हल्लिँदै हिँडिरहेका देखिन्छन् त कोही विदेश पठाउने एजेन्टकोमा ध्याउँदै गरेका भेटिन्छन्।
लामाकै एक पोस्टमा गोलकिपर अविशेक बराल कमेन्ट् गर्छन्,‘देशमा फुटबल हुन्थ्यो भने सपना बेच्न लाहुर आउनु पर्ने थिएन !’ फुटबललाई व्यावसायिक बनाउने योजना एन्फाले दशौं वर्षदेखि सुनाउँदै आएको हो। अझै पनि एन्फा यही योजना सुनाइरहेको छ।
तर, अझैसम्म त्यो व्यावसायिक भन्ने शब्द कागजमै सीमित छ। लामा भन्छन्, ‘व्यावसायिक भन्न सकिँदैन। किनकि प्रत्येक वर्ष एउटा पिरामिड पूरा हुनैपर्छ। चाहे टप टायरमा होस् वा लोएस्ट टायरमा। त्यो नभएसम्म व्यवसायिकताको कुरा गर्नु नै गाह्रो छ।’
समस्या आर्थिक होइन, व्यवस्थापनको कमजोरी पनि हो। एन्फाले बारम्बार प्रतियोगिताको मिति घोषणा गर्छ। त्यो मितिमा क्लब र खेलाडी तयारी गर्छन्। तर, अन्तिममा मिति सारिन्छ। यसले क्लबको योजना र खेलाडीको सपना चकनाचुर बनाउँछ। अनि फुटबल अझै अर्को मितिको प्रतीक्षामा अल्झिन्छ।
यस्तो अवस्था अब नियमित लिग होस् भनेर लामा र खेलाडी संघले फेरि पनि एन्फा महासचिव किरण राईलाई ज्ञापनपत्र बुझाएका छन्। उनी भन्छन्,‘हामीले एन्फालाई फेरि झकझक्याएका छौं। फुटबल फर्काउनुपर्छ, ढिलो गर्न मिल्दैन।’ तर, यो कुरा अझै ज्ञापनपत्रमै सीमित हुन्छ या एन्फा सम्हाल्ने नेतृत्वको कानसम्म पुग्छ? त्यो प्रश्नको उत्तर लामासँगै छैन।
नेपालमा आज फुटबलबिना खेलाडी, खेलाडीबिना फुटबल बन्न थालिसकेको छ। यस्तोमा हजारौं खेलाडी बेरोजगारीको चपेटामा छन्। यी खेलाडीलाई आफ्ने र परिवारको पेट पाल्न सकस छ।
यस्तोमा लामाको एक मात्र अपेक्षा छ, ढिलो नगरी र अल्झाइराखी नराखि फुटबललाई फर्काइदिनुपर्छ। उनी फुटबल फर्के मात्र यस्ता खेलाडीको अवस्था समान्यमा फर्किने विश्वास राख्छन्।







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


