काठमाडौं । टर्कीमा आयोजना हुने आठौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
च्याम्पियनसिपमा पुरुषको पी–३० क्याटगोरीतर्फ एकल पुम्सेमा विक्रम श्रेष्ठ तथा महिला के–४४ क्याटगोरीतर्फ ५८ केजीमुनि पलेशा गोवद्र्धनले नेपालको चुनौती पेश गर्नेछन् । पलेशा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दोकी कांस्य विजेता हुन् ।
नेपाली टोलीको टिम व्यवस्थापकमा रामचन्द्र श्रेष्ठ तथा प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन् । च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शनिबार टर्कीको अन्ताल्या प्रस्थान गर्नेछ ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुदिल शाहीले एक कार्यक्रमबीच बिहीबार बिदाइ गरे । प्रतियोगिता फेब्रुअरी ५ र ६ तारिखमा हुनेछ ।