इलाम। ब्रदरहुड एफसी बेलका उदयपुर पाँचौं सन्दकपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
सात खाल्डे सहिद खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन डाँगीहाट एफसी मोरङलाई ४–२ ले पराजित गर्दै उदयपुर उपाधिनजिक पुगेको हो।
निकै प्रतिस्पर्धात्मक खेलमा ब्रदहुडलाई जित दिलाउन जेनिस प्रजापतिले दुई गोल गरे। यस्तै, आकाश राई र अमन लामाको नाममा समान एक गोल रह्यो।
मोरङकोतर्फबाट सविन राईले एक्लैले दुई गोल फर्काउँदै अग्रता छोट्टाए पनि हार टार्न भने सकेनन्। खेलको प्लेयर अफ द म्याच ब्रदरहुडका जेनिस प्रजापति घोषित हुँदै नगद दुई हजार पाँच सयसहित ट्रफी प्राप्त गरे।
शनिबार अन्तिम सेमिफाइनलमा रेडहर्स एफसी इलाम र बुट्टाबारी युनाइटेड झापाबीच खेल हुनेछ। देउराली स्पोर्टिङ क्लबको आयोजना तथा सन्दकपुर गाउँपालिकाको संरक्षकत्वमा सञ्चालित प्रतियोगिताको विजेताले दुई लाख ५५ हजार प्राप्त गर्नेछ। उपविजेताले एक लाख ५५ हजार प्राप्त गर्नेछ। फाइनल खेल वैशाख १ गते हुनेछ।