काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) को पहिलो संस्करणको विजेता काठमाडौं रेजर्स शुक्रबार आमुन्नेसामुन्ने हुँदा उपविजेता धनगढी एफसीलाई भने गोलको खडेरी तोड्ने प्रयासमा हुनेछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी प्रतियोगितामा धनगढीले पहिलो खेलमा सबैभन्दा कमजोर टोली बुटवल लुम्बिनी एफसीलाई ४–१ ले पराजित गर्दै उपाधिमाथि दाबेदारी प्रस्तुत गरेको थियो। तर, धनगढीका लागि बाँकीका दुई खेल त्यति सहज बनेन।
दोस्रो खेलमा गत संस्करणको फाइनलमा भिडेको ललितपुर सिटी एफसीसँग गोलरहित बराबरीमा रोकिँदा अर्को खेलमा पनि धनगढी पोखरा थन्डर्ससँग सोही नतिजामा चित्त बुझाउन बाध्य बन्यो।
हालसम्म चार गोल गरे पनि धनगढीलाई चित्त दुखाउने तथ्य भनेको पछिल्ला दुई खेलमा गोलको खडेरी लाग्नु नै हो। धनगढीसँग ‘फ्रन्ट लाइन’मा एक से एक खेलाडी छन्।
गत संस्करणमा चार गोल गरेका लेबनानी फरवार्ड अहमद हिजाजले पहिलो खेलमै दुई गोल गर्दै पुरानै लय समात्ने संकेत देखाएका थिए। त्यसमा ब्राजिलियन विंषर सर्जियो बार्बोजाले पनि साथ दिएका थिए। तर, पछिल्ला दुई खेलमा भने ‘फाइनल थर्ड’मा राम्रो गर्न नसकेको बार्बोजा स्वीकार गर्छन्।
‘हामीलाई गोल धेरै महत्त्वपूर्ण छ। तर, दुई खेलमा गोल निस्किन सकेको छैन। पोखराविरुद्ध पनि धेरै प्रयास गरेका हौं। तर, सफल भएनौं,’ उनी भन्छन्।
दुई खेलमा बराबरीमा रोकिए पनि धनगढी तीन खेलबाट पाँच अंकका साथ तेस्रो स्थानमा छ। शुक्रबार काठमाडौंविरुद्ध जित निकालेको खण्डनमा धनगढी आठ अंकसहित शीर्ष स्थानमा उक्लिने छ।
अर्कोतर्फ भने काठमाडौंले संघर्षपूर्ण खेल प्रस्तुत बिस्तारै लय समात्न थालेको छ। पहिलो खेलमा ललितपुरको दुई गोलको अग्रता उल्टाएको काठमाडौंले झापा एफसीसँग गोलरहित बराबरी खेलेको थियो।
तर, धनगढीले गोलको वर्षा गरेको बुटवलमाथि भने काठमाडौंले तेस्रो खेलमा १–० को संघर्षपूर्ण जित मात्रै हासिल गर्न सक्यो। उक्त निर्णायक गोल पनि ओमडोउ डिओपले निर्धारित खेल सकिन एक मिनेटअघि गरेका थिए। उक्त खेलसँगै पहिलो जित निकालेको काठमाडौंले पनि धनगढीले झैं पाँच अंक बटुलेको छ। काठमाडौंको नजर अब धनगढीको झैं शीर्ष स्थानमा उक्लिने हुनेछ।