काठमाडौं। एन्ज पोस्टेकोग्लुको टोटनह्यामलाई वर्षौंदेखिको उपाधि खडेरी तोड्ने प्रयास अझै खुला छ।
नर्थ लन्डनमा भएको खेलमा उनको टोलीले युरोपा लिगको क्वार्टरफाइनलको पहिलो लेगमा फ्र्याङ्कफर्टसँग १–१ को बराबरी खेलेको छ। टोटनह्याम सुरुआतमै ह्युगो एकिटिकेबाट गोल खाँदै खेलमा पछि परेको थियो।
तर, पेड्रो पोरोले पहिलो हाफमै उत्कृष्ट गोल गर्दै टोलीलाई बराबरीमा ल्याए। दोस्रो हाफमा टोटनह्यामले लगातार आक्रमण गर्दै फ्र्याङ्कफर्टको गोल पोस्टमा दबाव बनायो। तर, दुईपल्ट बार लागेपछि जित निकाल्न सकेन।
क्लबको सन् २००८ को लिग कपपछि पहिलो उपाधि जित्ने लक्ष्य जोगाउन अब पोस्टेकोग्लुले दोस्रो लेगमा अप्रिल १७ मा जर्मनीमा एक अविस्मरणीय जित निकाल्नुपर्नेछ।
‘जस्तो तरिकाले हामीले गोल खायौं त्यो निराशाजनक थियो। सुरुमै गोल खाँदा उनीहरूको खेल योजनालाई बल पुग्यो। तर, त्यसअघि पनि हामीले खेलमा राम्रो नियन्त्रण बनाएका थियौं। दोस्रो हाफमा हामीले सबै कुरा राम्रो गर्यौं, केवल गोलबाहेक। यस्तो प्रदर्शन दोहोर्याउन सक्यौं भने हामीसँग मौका हुनेछ,’ पोस्टेकोग्लुले भने।
जसले यो समूह जित्छ, उसले सेमिफाइनलमा बोडो/ग्लिम्ट वा लाजियोसँग प्रतिस्पर्धा गर्नेछ। बोडो/ग्लिम्टले पहिलो लेगमा लाजियोविरुद्ध २–० को अग्रता लिएको छ।
पोस्टेकोग्लुले यस सिजनको सुरुआतमा दोस्रो सिजनमा उपाधि जित्ने बानी रहेको दाबी गरेका थिए, जुन अहिले उनलाई आफ्नै दाबीको भार बनेको देखिन्छ। हाल टोटनह्याम १४औं स्थानमा छ र सन् १९९३–९४ पछि सबैभन्दा खराब प्रिमियर लिग समाप्तिको संघारमा छ।