काठमाडौं। म्यानचेस्टर युनाइटेडका गोलकिपर आन्द्रे ओनानाको लागि यो रात बिर्सनलायक रह्यो। उनको दुई ठूला गल्तीले लियोनलाई युरोपा लिग क्वार्टरफाइनलको पहिलो लेगमा २–२ को बराबरी गर्न मद्दत गर्यो।
लियोनका रायान चेरकीले खेलको अन्त्यतिर बराबरी गोल गर्दा ओनाना निराश मुद्रामा देखिन्थे। क्यामरुनका अन्तर्राष्ट्रिय गोलकिपर ओनाना थियागो अल्माडाको हल्का फ्रिकिकलाई रोक्न असफल भए, जुन उनको गल्तीको प्रमुख कारण बन्यो।
यो घटना यति चर्को बन्यो कि खेलपछि लियोनका मिडफिल्डर तथा युनाइटेडका पूर्वखेलाडी नेमान्जा माटिचले ओनानालाई ‘युनाइटेडको इतिहासकै एक खराब गोलकिपर’ भने।
युनाइटेडका युवा डिफेन्डर लेनी योरोले पहिलो हाफको अन्त्यमा बराबरी गोल गरे। जोशुआ जिर्कजीले ८८औं मिनेटमा हेडरमार्फत युनाइटेडलाई अग्रता दिलाए। तर, इन्जुरी टाइमको अन्त्यमा जर्ज मिकाउटाड्जेको लो सट ओनानाले समात्न सकेनन् र त्यसको रिबाउन्डमा चेरकीले गोल गर्दै खेल २–२ मा बराबरीमा ल्याए।
युनाइटेडका प्रशिक्षक रुबेन अमोरिमले ओनानाको पक्षमा उभिँदै भने,‘यस्ता गल्तीहरू फुटबलमा हुन्छन्। म ओनानालाई यो समयमा केही भन्न सक्दिन। अब हाम्रो ध्यान दोस्रो लेगमा हुनुपर्छ।’
युनाइटेडको अर्को सिजन च्याम्पियन्स लिगमा स्थान सुरक्षित गर्नका लागि युरोपा लिग जित्नु अनिवार्य छ। असफल भएमा क्लबले कम्तीमा करिब १२७.६ मिलियन डलर घाटा बेहोर्नुपर्नेछ।
दुवै क्लब हाल कस्तो अवस्थामा छन् भन्ने कुरा यो तथ्यबाट प्रस्ट हुन्छ। यी दुईको अन्तिम भेट २००७–०८ को च्याम्पियन्स लिगको अन्तिम १६ मा भएको थियो। त्यो बेला युनाइटेडले तेस्रो युरोपियन उपाधि जितेको थियो भने लियोनले फ्रेन्च लिगमा लगातार सातौं उपाधि जितेको थियो।
युनाइटेडका लागि यो सिजन घरेलु लिगमा संघर्ष गरिरहेका रस्मुस होइलुन्डले युरोपामा पाँच गोल गरे तापनि प्रिमियर लिगमा मात्र तीन गोल गर्न सकेका छन्। उनले खेलको सुरुआततिर पाट्रिक डोर्गुको कटब्याकबाट आएको पासलाई नराम्रोसँग ‘मिस’ गरे।
ब्रुनो फर्नान्डेसको फ्रिकिकपछि लुकास पेरीले बल पन्च गरे। तर, म्यानुएल उगार्टेले बल फिर्ता पठाए र योरोले क्लबका लागि पहिलो गोल गरे। दोस्रो हाफमा एलेक्जान्द्रे लाकाजेटले राम्रो अवसर गुमाए। मिकाउटाड्जेले युनाइटेडको डिफेन्स छिचोल्दै उत्कृष्ट ‘ड्रिब्लिङ’ गरे।
कोरेन्टिन टोलीसोले पनि एक मौका पाए। तर, उनले कमजोर सट प्रहार गरे। युनाइटेडका गार्नाचोको क्रसमा पेरीले उत्कृष्ट बचाउ गरे भने कासेमिरोको हेडर अलिकति बाहिर गयो।
८८औं मिनेटमा फर्नान्डेसको क्रसमा जिर्कजीले हेडर गोल गरेपछि युनाइटेड विजयनजिक पुगेको थियो। तर, अन्तिम मिनेटमा ओनानाको अर्को गल्तीसँगै चेरकीले ‘रिबाउन्ड’मा गोल गर्दै लियोनलाई बराबरीमा ल्याए।
खेलपछि चेरकीले भने,‘हामी बराबरीभन्दा पनि बढीको हकदार थियौं। हामीले राम्रो खेल्यौं। अब दोस्रो लेग बाँकी छ र हामी जित्नकै लागि त्यहाँ जानेछौं।’