काठमाडौं। एफसी चितवनको अपराजित यात्रामा ‘ब्रेक’ लगाउँदै साबिक विजेता ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न चौथो खेलमा ललितपुरले २–१ को जित निकालेको हो। योसँगै चितवनको अपराजित यात्रामा ‘ब्रेक’ लागेको छ भने ललितपुरले आफ्नो लयलाई निरन्तरता दिएको छ।
दोस्रो जित निकालेको ललितपुर आठ अंकसहित चितवनलाई उछिन्दै शीर्ष स्थानमा उक्लिएको छ। समान खेलबाट सात अंक रहेको चितवन एक स्थान तल झरेको छ।
ललितपुरलाई जित दिलाउन मणिकुमार लामा निर्णायक बने। उनले एक असिस्ट र निर्णायक गोल गरे। यस्तै, इमो इजिकेलले ललितपुरको जितमा एक गोल थपे। चितवनका भिक्टर मानसरेले गोल गरे पनि सान्त्वना रह्यो।
‘एकदमै गाह्रो गेम थियो। चितवनसँग क्वालिटीका खेलाडी थिए, हामीलाई निकै डोमिनेट गरे। तर, काउन्टर अट्याकमा गोल गर्ने हाम्रो योजना थियो। केही हदसम्म हामीले त्यो पूरा पनि गर्यौं। तर, अझै फाइनल थर्डमा राम्रो प्रदर्शन गर्न सकेनौं,’ ललितपुरका कप्तान अनन्त तामाङले खेलपछि भने।
खेलको तेस्रो मिनेटमै ललितपुरले सुरुआती अग्रता लिएको थियो। मणीले करिब ४२ यार्डबाट प्रहार गरेको फ्रिकिक बललाई अनमार्क रहेका इमोले हेडरमार्फत सहज गोल गरे।
तर, ७४औं मिनेटमा भिक्टरले चितवनलाई खेलमा फर्काए। ललितपुरका डिफेन्डर र गोलकिपर सन्देश श्रेष्ठबीच तालमेल नमिल्दा हुलमुलमा भिक्टरले गोल गरे। घाइते भएको कारण ललितपुरले पहिलो रोजाइको गोलकिपर जेफ्री बालटोसलाई गुमाएको थियो। उनको स्थानमा वैकल्पिक खेलाडी बनेर मैदान प्रवेश गरेका सन्देशससँग अनुभवको कमी देखियो।
तर, ८०औं मिनेटमा ललितपुर पुन: खेलमा फर्कियो। इमोलाई बक्सको एजमा चितवनका जय गुरुङले लडाएपछि ललितपुरले पुन: फ्रिकिक पायो। जसलाई सेट पीसमा मणिले सिधैं गोलमा परिणत गरे।
‘सबै कुरा भनेजस्तो त भएन। तर, टाइटल दाबेदारमाथि जित निकाल्नुले अन्य खेलमा मोटिभेट दिन्छजस्तो लाग्छ,’ अनन्तले सुनाए।