काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)मा बिहीबार ‘इन–फर्म’ दुई टोली साबिक विजेता ललितपुर सिटी एफसी र एफसी चितवन भिड्दै छन्। दुवै टोली हाल उत्कृष्ट लयमा छन्।
ललितपुर र चितवन हालसम्म दुईपल्ट भेटका छन्। पहिलो संस्करणमा यी दुई टोलीले १-१ गोलको बराबरी खेलेका थिए। ४९औं मिनेटमा कमल श्रेष्ठले गोल गरे पनि इन्जुरी समयमा कप्तान अनन्त तामाङले आत्मघाती गोल गर्न पुगेका थिए।
यद्यपि, उक्त संस्करणमा चितवन जितविहीन रहँदा ललितपुरले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो। तर, दोस्रो संस्करणमा भने चितवनमाथि ३–१ को महत्त्वपूर्ण जित हासिल गर्दै ‘प्लेअफ’को यात्रा तय गरेको ललितपुरले उपाधि नै हात पारेको थियो।
यसपल्ट भने चितवन उक्त हारको बदला लिने लक्ष्यमा हुनेछ। तर, चितवन यसपल्ट भने त्यति कमजोर देखिएको छैन। तीन खेलको समाप्तिमा चितवनले दुई जित हात पारेको छ भने एक खेलमा बराबरीमा चित्त बुझाएको छ।
पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीविरुद्धको खेलमा ‘क्लिन सिट’ राखेको चितवनले झापा एफसीसँग भने अन्तिम समयमा सम्हालिन नसक्दा १–१ को बराबरीको नतिजामा चित्त बुझाउन बाध्य बनेको थियो। हालसम्म चितवनले चार गोल गर्दा एक गोल खाएको छ। चितवन सात अंकसहित शीर्ष स्थानमा छ।
तेस्रो स्थानको ललितपुरले पनि आफ्नो अपराजित यात्रा कायम राखेको छ। तर, ललितपुरले चितवनले झैं सफलता हात पार्न सकेको छैन। तीन खेलको समाप्तिमा एक जित र दुई बराबरी खेलेको ललितपुरको पाँच अंक छ।
उद्घाटन खेलमै पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सविरुद्ध दुई गोलको अग्रता जोगाउन नस्कदा २–२ को नतिजामा चित्त बुझाउन पर्यो। अर्को खेलमा पोखरामाथि ३–२ को जित हात पार्दै प्रतियोगितामा पुनरागमन गरेको ललितपुर तेस्रो खेलमा साबिक उपविजेता धनगढी एफसीसँग गोलरहित बराबरीमा रोकिन पुग्यो।
यी तीन खेलमा पाँच गोल गर्दा ललितपुरले दुई गोल खाएको छ। जारी प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने टोली नै ललितपुर बनेको छ। पोखरा, चितवन र धनगढीले समान चार गोल गरेका छन्।