काठमाडौं। नाटकीय ‘कमब्याक’ गर्दै इन्टर मियामी कोनकाकाफ च्याम्पियन्स कपको सेमिफाइनलमा प्रवेश गरेका छन्।
बिहीबार बिहान सम्पन्न खेलमा मियामीलाई लस एन्जलस एएफसीविरुद्धको दोस्रो लेगमा ३–१ को जित दिलाउन लिओनल मेसीले दुई गोल गरे। ८४औं मिनेटमा उनले पेनाल्टीमार्फत निर्णायक गोल गरेका थिए।
दुई लेगको समग्र नतिजा ३–२ ले इन्टर मियामीको पक्षमा रह्यो। पहिलो लेगमा १–० ले हार बेहोरेको मियामीलाई सेमिफाइनल पुग्न कम्तिमा तीन गोल गर्नु आवश्यक थियो, जुन मेसीको नेतृत्वमा सम्भव भएको हो।
मेसीको लागि यो जित सन् २०२२ को विश्वकप फाइनल सम्झाउने खालको बन्यो। त्यतिबेला उनले फ्रान्सविरुद्ध दुई गोल गरेका थिए, एक पेनाल्टीमार्फत र अर्को पेनाल्टी सुटआउटमा। संयोगवश दुवै खेलमा गोलकिपर हुगो लोरिस नै थिए।
उनले बिहीबार मियामीविरुद्ध एन्जलसको गोल पोस्ट सम्हालेका थिए। विश्वकपमा जस्तै लोरिसले यसपटक पनि मेसीलाई रोक्न सकेनन्। खेल समाप्त भएपछि मियामीका मुख्य प्रशिक्षक जेभियर माचेरानोले खुसीले हात हल्लाउँदै विजयउत्सव मनाए।
मियामीका गोलकिपर ओस्कर उस्टारीले अन्तिम मिनेटमा दुई उत्कृष्ट बचाउ गरे। अब मियामीले मेक्सिकन क्लब पुमास वा भ्यानकुभर ह्वाइटक्याप्समध्ये कुनै एकसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ। सेमिफाइनलको पहिलो लेग अप्रिल २२, २३ वा २४ मा हुनेछ।
आरोन लङले नवौं मिनेटमा गोल गर्दै एन्जलसलाई सुरुआती अग्रता दिलाए। योसँगै मियामी सम्रमा खेलमा २–० ले पछि परेको थियो। अवे गोल नियमअन्तर्गत एन्जलस बलियो स्थितिमा पुगिसकेको थियो। त्यसैले मियामीलाई अगाडि बढ्न कम्तीमा तीन गोल गर्न आवश्यक थियो। तर, मेसीले पुनरागमन सफल बनाए।
३५औं मिनेटमा मेसीले १८ यार्ड बक्स नजिकबाट बाँया खुट्टाले उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याए। मियामीको लागि उनको यो ४८ खेलमा ४१औं गोल हो।
६१औं मिनेटमा नोआ एलन भाग्यमानी साबित भए। उनले बक्समा चिप प्रहार गरेका थिए। उनको प्रहार फेडेरिको रेडोन्डोतर्फ लक्षित थियो। लोरिस अग्रसर भएर आएको बेला बल जमिनमा ठोक्किएर दुवैलाई छल्दै नेटको कुनामा पुग्यो।
यो गोलले समग्र नतिजा २–२ बनायो। तर, एन्जलससँग अझै अवे गोलको फाइदा थियो। ६७औं मिनेटमा मेसीले लुइस सुआरेजलाई पास दिएर गोल गरे। तर, अफसाइडको झन्डा उठेपछि त्यो गोल अमान्य भयो।
तर, अन्ततः पेनाल्टी पाएपछि मेसीले अवसरलाई जानीबुझी उपयोग गर्दै अन्तिम स्कोर ३–१ बनाए र इमियामीलाई सेमिफाइनलमा पुर्याए।