काठमाडौं। रोवर्ट लेवान्डोस्कीको दोहोरो गोल मद्दतमा बार्सिलोनाले च्याम्पियन्स लिगको क्वार्टरफाइनल पहिलो लेगमा बुधबार राति भएको खेलमा बोरुसिया डर्टमुन्डलाई ४–० को एकतर्फी नतिजा हात पार्दै सेमिफाइनलको ढोका लगभग खोलिसकेको छ।
हान्सी फ्लिकको प्रशिक्षणमा रहेको बार्सिलोना पछिल्लो २३ खेलसम्म अपराजित छ। यो सिजन च्याम्पियन्स लिगको उपाधि जित्ने दाबेदारमध्ये एक मानिएको बार्सिलोनाले सन् २०१९ यता पहिलोपटक सेमिफाइनल पुग्ने मौका बनाएको हो।
खेलको सुरुआतदेखि नै दबाब बनाएको बार्सिलोनाले पहिलो गोल २५औं मिनेटमा गर्यो। फर्मिन लोपेजले प्रहार गरेको फ्रिकिकमा इनिगो मार्टिनेजले हेडर गरिदिँदा पाउ कुबार्सीको प्रयास गोल लाइनतर्फ गइरहेको थियो। तर, प्रतियोगिताका शीर्ष स्कोरर राफिन्हाले लाइनभन्दा अघिनै बल छुनुका साथै गोल पक्का गरे। प्रारम्भमा अफसाइडको आशंका गरिए पनि भिएआरबाट पुष्टि भएपछि राफिन्हाको १२औं गोल मान्यता पायो।
‘म अलिकति चिन्तित थिएँ, तर गोल मान्य भएपछि खुसी लाग्यो। मैले कुबार्सीसँग माफी मागें। उसले मलाई चिन्ता नलिन भन्यो। त्यसलाई उसले असिस्ट मानेको छ,’ उनले भने।
पहिलो हाफको अन्त्यतिर डर्टमुन्डका लागि सेरहाउ गुइरासीले केही सुनौलो मौका गुमाए। उनले प्रतियोगितामा १० गोल गरिसकेका छन्। तर, बार्सिलोनाविरुद्ध अवसर सदुपयोग गर्न सकेनन्।
लेवान्डोस्की चम्किए
दोस्रो हाफको सुरुआतमै बार्सिलोनाले खेलमा पूर्ण नियन्त्रण जमायो। लमिन यमलको क्रसमा राफिन्हाले हेडर गरे, जुन बल लेवान्डोस्कीसम्म पुगेर उनले सहजै गोलमा परिणत गरे। यो उनको यस सिजनको १०औं च्याम्पियन्स लिग गोल हो।
त्यसपछि ६६औं मिनेटमा फर्मिन लोपेजको पासमा लेवान्डोस्कीले पुनः गोल गर्दै बार्सिलोनालाई ३–० को अग्रता दिलाए। यो गोल डर्टमुन्डविरुद्ध उनको २९औं हो र बार्सिलोनाका लागि ९९औं गोल।
‘९९ गोल बार्सिलोनाका लागि! म निकै खुसी छु। सधैं जित्ने सोच मात्र होइन, टोलीलाई सहयोग गर्ने उद्देश्य पनि मेरो हुन्छ। फरवार्डको काम नै हो गोल गर्नु,’ उनले भने।
१७ वर्षीय यमलले सारा खेलभर डर्टमुन्डको डिफेन्सलाई हैरान बनाए।
अन्ततः उनले पनि गोल गरे। राफिन्हाको पासमा उनले किपरलाई छलाउँदै चौंथो गोल गर्दै जित सुनिश्चित गरे। अन्तिमतिर यमलले मैदान छाडेका थिए। तर, प्रशिक्षक फ्लिकले धेरै मिनेट खेलिसकेको र उनमा चोटको चिन्ता नभएको बताए।
‘सबै ठिक छ। उसले पछिल्ला खेलहरू धेरै खेलेको छ,’ फ्लिकले भने। बार्सिलोना यस सिजन क्वाड्रुपल (चार उपाधि) जित्ने लक्ष्यमा छ र यस प्रदर्शनबाट त्यो सम्भावना अझ बलियो बनेको छ।
डर्टमुन्ड निराश
डर्टमुन्डका कप्तान एमरे कानले हारपछि आफूहरूले धेरै सामान्य गल्तीहरू गरेको स्वीकार गरे। ‘हामी पर्याप्त एकताबद्ध थिएनौं र त्यसमाथि सामान्य गल्ती गर्यौं। यस्तो स्तरमा ती गल्तीहरू महँगो पर्छ,’ उनले भने, ‘हामी अझ राम्रो गर्न सक्छौं। यद्यपि, बार्सिलोनाका आक्रमणकारीहरू साँच्चै उच्चस्तरका छन्।’
बार्सिलोनाले अब आगामी मंगलबार जर्मनीको भ्रमण गर्नेछ। सोही दिन सेमिफाइनलमा इन्टर मिलान या बायर्न म्युनिखसँगको विपक्षी हुन्छन् भन्ने सुनिश्चित पनि हुनेछ।