सिमरा। ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पा चौथोपटक जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
सिमरा रंगशालामा बुधबार सम्पन्न दोस्रो सेमिफाइनलमा हिमालयन शेर्पाले घरेलु टोली नवजनजागृति युवा क्लब सिमरालाई २–१ ले पाखा लगाएको हो। योसँगै हिमालयन शेर्पाले उपाधि भिडन्त अर्को ‘ए’ डिभिजन टोली मच्छिन्द्र फुटबल क्लबसँगको भेट पक्का गरेको छ।
यी दुईबीचको भेट शुक्रबार हुनेछ। प्रतियोगिताको दोस्रो संस्करणको उपाधि जितेको हिमालयन शेर्पाले यसअघि चौथो र १३औं संस्करणको फाइनलमा पराजय भोगेको थियो।
हिमालयन शेर्पाको जितमा भाारतीय खेलाडी रोवर्ट खोङजो र समीरराज थोकरले गोल गरे। आयोजक सिमराका लागि युवराज खड्काले गरेको गोल सान्त्वना रह्यो।
पहिलो हाफ गोलरहीत बराबरी खेलेको आयोजकविरुद्ध दोस्रो हाफको सुरुआतमै हिमालयन शेर्पाले रोवर्टको गोलबाट अग्रता बनाउन सफल भयो। ४७औं मिनेटमा शिवम् खड्काको क्रसबल नियन्त्रणमा लिँदै आयोजकको डिबक्स भित्रबाटै रोवर्टले आकर्षक गोल गरे।
५८औं मिनेटमा समीरराजले अग्रता दोब्बर पारे। उनको पहिलो प्रहार आयोजकका गोलरक्षक युनेश चौधरीले बचाएका थिए। रिवाउन्ड बललाई पुनः नियन्त्रणमा लिँदै किपर बिट भएको अवस्थामा समीरले गोल गरेका हुन्।
७३औं मिनेटमा युवराजले गोल गर्दै आयोजक सिमरालाई खेलमा फर्काउने प्रयास गरे पनि जितका लागि पर्याप्त भएन। मोहित गुरुङको क्रसमा उनले गोल गरेका थिए।