इलाम। उदयपुरको ब्रदरहुड एफसी पाँचौं सन्दकपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
तेस्रो क्वार्टरफाइनलमा चुलाचुली स्पोर्टिङ क्लब दमक झापालाई ३–२ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो। पहिलो हाफको ३०औं मिनेटमा अनिष आरडीको गोलसँगै अग्रता बनाएको चुलाचुलीले दोस्रो हाफमा सम्हालिन नसक्दा क्वार्टरफाइनलबाट बाहिरिएको हो।
दोस्रो हाफमा कमब्याक गर्दै उदयपुरले तीन गोल गर्यो। ६५औं मिनेटमा ब्रदरहुडका प्रवेश दनुवारले गोल गर्दै खेललाई बराबरीमा पुर्याए।
दोस्रो हाफकै ७८ र ८६औं मिनेटमा ब्रदरहुडका कप्तान आकाश राईले थप दुई गोल गर्दै अग्रता ३–१ बनाए। इन्जुरी समयको अन्तिम मिनेटमा चुलाचुलीका अनिषले व्यक्तिगत दोस्रो गोल गरे पनि हार टार्न सकेनन्।
खेलको प्लेयर अफ द म्याच ब्रदहुडका आकाश घोषित हुँदै दुई हजार पाँच सयसहित ट्रफी प्राप्त गरे। बिहीबार चौथो तथा अन्तिम क्वार्टरफाइनलमा बुट्टाबारी फुटबल क्लब झापा र पाँचथर फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।