काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)का अघिल्ला दुई संस्करणमा खराब सुरुआत गरेको एफसी चितवनले यसपल्ट भने पराजित हुन परेको छैन।
सुरुआती दुई खेलमा पोखरालाई २–० र बुटवल लुम्बिनी एफसीलाई १–० ले पराजित गरेको चितवन ६ अंकसहित शीर्ष स्थानमा छ। अब चितवनले आइतबार आफ्नो तेस्रो खेलमा झापा एफसीको चुनौती सामना गर्दै लय कायम राख्ने प्रयास गर्नेछ।
झापाले गत संस्करणमा मात्रै एनएसएलमा स्थान बनाएको हो। उक्त संस्करणमा चितवनले झापामाथि २–० को जित निकालेको थियो।
यद्यपि, अंक तालिकामा पाँचौं स्थानमा रहेको झापा न प्लेअफमा पुग्यो न दुई स्थान तल रहेको चितवन नै। यसपल्ट चितवनले सानदार सुरुआत गर्दा झापाले भने गोलको खातासम्म खोल्न सकेको छैन।
जारी संस्करणमा बुटवल लुम्बिनी र काठमाडौं रेजर्ससँग प्रतिस्पर्धा गरेको झापाले दुबै खेल गोलरहित बराबरीमा चित्त बुझाएको थियो। त्यसैले झापाका लागि आइतबारको खेल ‘टर्निङ पोइन्ट’ सावित हुन सक्छ।
चितवन शीर्ष स्थानमा रहँदा झापा भने दुई खेलबाट दुई अंकसहित पाँचौं स्थानमा छ। चितवनलाई खेल उपाधि दाबेदारहरूमध्ये एक ललितपुर सिटी एफसीसँगको दूरी घटाउने सन्दर्भमा पनि महत्त्वपूर्ण छ।
ललितपुर हाल एक खेल बढी खेलेको अवस्थामा पाँच अंकसहित दोस्रो स्थानमा छ। यदि झापालाई पराजित गर्न सफल भयो भने ललितपुरसँगको अंक दूरी चारमा पुग्नेछ र चितवनले शीर्ष स्थानमा अझ पकड बनाउने छ।
त्यसैले दुबै टोलीका लागि यो खेल ‘रेडेम्प्शन’ अर्थात् विगतको निराशाजनक प्रदर्शनबाट माथि उठ्ने अवसरजस्तै हुनेछ। चितवन जित निकाल्दै लगातार तेस्रो जितको खोजीमा हुनेछ भने झापाले लयमा फर्किँदै अंक तालिकामा आफ्नो स्थान सुधार गर्ने लक्ष्यमा हुनेछ। झापाले जितेमा ललितपुरलाई पछि पार्दै दोस्रो स्थानमा पुग्ने मौकासमेत पाउनेछ।
दुवै टोलीका लागि महत्त्वपूर्ण यो भिडन्तले एनएसएलको तालिका र प्लेअफ समीकरणमा नयाँ मोड ल्याउन सक्ने सम्भावना छ।