काठमाडौं। लिओनल मेसी चोटपछि इन्टर मियामीको खेलमा पुन: फर्किएका छन्।
आइतबार फिलाडेल्फिया युनियनविरुद्धको खेलमा दोस्रो हाफमा वैकल्पिक खेलाडीको रूपमा मैदान छिर्दा दुई मिनेटमै गोल गर्दै मियामीलाई २–१ को जित दिलाए।
मेसीले पछिल्लो समय मांसपेशीको चोटका कारण अर्जेन्टिनाको विश्वकप छनोट खेलहरू गुमाएका थिए। उनको अनुपस्थितिमा इन्टर मियामीले मार्च १६ मा एटलान्टाविरुद्ध २–१ को जित हात पारेको थियो।
प्रशिक्षक मासचेरेनोले मेसीलाई सुरुदेखि खेलाउन चाहेका थिएनन्। ‘हामीले सुरुबाटै खेलाउने जोखिम उठाएनौं, तर केही मिनेट खेलाउने निर्णय गर्यौं,’ उनले भने।
खेलको २३औं मिनेटमा विंगर रोबर्ट टेलरले इन्टर मियामीका लागि पहिलो गोल गरे। जोर्डी आल्बाले बाँया किनारबाट पास दिएको बल बेन्यामिन क्रेमास्चीले टेलरलाई मिलाए, जसले सहजै गोल गर्दै मियामीलाई अग्रता दिलाए।
इन्टर मियामीका प्रशिक्षक जेभियर मासचेरेनोले मेसीलाई ५५औं मिनेटमा मैदान पठाए। मैदान छिरेको दुई मिनेटमै उनले लुइस सुआरेजको पासमा उत्कृष्ट गोल गर्दै इन्टर मियामीको अग्रता दोब्बर बनाए। उनले दायाँ खुट्टाले लो शट हानेर बललाई जाली चुमाए।
८०औं मिनेटमा कुइन सुलिभानको क्रसमा हंगेरीका ड्यानियल गाज्डागले गोल गर्दै फिलाडेल्फियाका लागि एक गोल फर्काए। तर, अन्ततः इन्टर मियामीले जित सुनिश्चित गर्यो।
यो जितसँगै इन्टर मियामीले पाँच खेलबाट चार जित निकाल्दै ईस्टर्न कन्फरेन्सको शीर्ष स्थानमा कब्जा जमाएको छ।
उनले थपे, ‘यदि कुनै समस्या भएन भने मेसी अर्को खेलका लागि लस एन्जलस जानेछन्।’