काठमाडौं। अपराजित पेरिस सेन्ट–जर्मेन (पिएसजी) शनिबार सेन्ट–इटिएनलाई ६–१ ले पराजित गर्दै फ्रेन्च लिग वानको कीर्तिमानी १३औं उपाधि हात पार्ने संघारमा पुगेको छ।
मार्सेलेले रेइम्ससँग ३–१ को हार बेहोरेपछि पिएसजीले आफ्नो खेल सजिलै जित्यो। यदि मोनाकोले नाइससँग बराबरी खेलेको भए पिएसजी सोही दिन च्याम्पियन बन्ने थियो।
तर, मोनाकोले ७३औं मिनेटमा दोस्रो गोल गर्दै नाइसलाई २–१ ले पराजित गर्यो। यो जितसँगै मोनाको दोस्रो स्थानमा उक्लिएको छ। तर, पिएसजीभन्दा २१ अंक पछाडि छ।
अब पिएसजीले आउँदो शनिबार एन्जर्सविरुद्ध कम्तिमा बराबरी खेल्न सके पनि लिगको उपाधि जित्नेछ। पिएसजी खेलको सुरुआतमा नै पछि परेको थियो।
१०औं मिनेटमा सुएडिस फरवार्ड लुकास स्टासिनले जुरिको डाभिताश्भिलीको क्रसमा हेडर गोल गर्दै सेन्ट–इटिएनलाई अग्रता दिलाए। तर, पहिलो हाफको अन्त्यतिर गोन्सालो रामोसले पेनाल्टीमार्फत बराबरी गोल गरेपछि सेन्ट–इटिएनको रक्षा कमजोर बन्यो।
ख्विचा क्वारात्स्खेलियाले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए। त्यसपछि डिजाइरे डोउले दुई गोल थपे, जुनबीचमा जोआओ नेभेसले पनि गोल गरे।
१७ वर्षीय प्रतिस्थापन खेलाडी इब्राहिम म्बायेले ९०औं मिनेटमा आफ्नो पहिलो गोल गर्दै ६–१ को विशाल जित सुनिश्चित गरे।