काठमाडौं। किलियन एमबाप्पेले दुई गोल गर्दै रियल मड्रिडलाई ला लिगामा लेगानेसविरुद्ध ३–२ को संघर्षपूर्ण जित दिलाए। यस जितसँगै मड्रिडले ला लिगाको शीर्ष स्थानमा बार्सिलोनासँग अंक बराबरी गरेको छ।
बार्सिलोनाले आइतबार जिरोनालाई पराजित गर्न सकेमा पुनः तीन अंकको अग्रता लिनेछ। २८ खेलबाट बार्सिलोनाको ६३ अंक छ। एक खेल बढी खेलेको रियलको पनि समान अंक छ।
रियलमा आबद्ध भएयता एमबाप्पेले ३३ गोल गरिसकेका छन्, जुन क्रिस्टियानो रोनाल्डोले २००९–१० सिजनमा गरेको गोलसंख्याको बराबरी हो।
‘रोनाल्डोसँग तुलना हुनु विशेष कुरा हो। उहाँले मलाई धेरै सल्लाह दिनुभएको छ। तर, हाम्रो मुख्य लक्ष्य उपाधि जित्नु हो,’ उनले भने।
स्यान्टियागो बर्नाबेउमा भएको खेल रियलका लागि सहज जित हुने अनुमान गरिएको थियो। तर, लेगानेसले निकै कडा प्रतिस्पर्धा गरेको हो। ३२औं मिनेटमा एमबाप्पेले पेनाल्टीबाट गोल गर्दै मड्रिडलाई अग्रता दिलाए।
तर, लेगानेस तुरुन्तै खेलमा फर्कियो। ओस्कार रोड्रिग्वेजले कमजोर प्रहारलाई डिएगो गार्सियाले जाली चुमाए। ४१औं मिनेटमा लेगानेसले पुनः अग्रता लियो। रोजिएरले बल खोस्दै डानी राबालाई उत्कृष्ट अवसर सिर्जना गरिदिए।
जुड बेलिङघमले रिबाउन्डमा गोल गर्दै खेल बराबरी गरे। ६७औं मिनेटमा एमबाप्पेले फ्रि–किकमार्फत निर्णायक गोल गरे।
लेगानेसका खेलाडीहरूले रेफ्रीको केही निर्णयप्रति असन्तुष्टि जनाएका थिए। विशेषगरी दुई सम्भावित पेनाल्टीको माग अस्वीकार गरिएको थियो। एमबाप्पेले ला लिगामा २२ गोल गरेका छन्, जुन बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीभन्दा मात्र एक कम हो।