काठमाडौं। भिन्सेन्ट कोजिइल्लोको पेनाल्टी गोलसँगै नेपाल सुपर लिग (एनएसएल)को भ्याली डर्बीमा साबिक विजेता ललितपुर सिटी एफसीसँग काठमाडौं रेजर्स हारबाट जोगिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबारदेखि सुरु भएको तेस्रो संस्करणको उद्घाटन खेलमा ललितपुर र काठमाडौंले २–२ को बराबरी खेलेका हुन्।
ललितपुरका जनाथन इडुआर्डो र आदित्य शाक्यले गोल गरेका हुन्। काठमाडौंका ओमोडोउ डिओप र भिन्सेन्टले गोल फर्काए। ललितपुरलाई खेलको पाँच मिनेटमै विदेशी खेलाडी जनाथनले सुरुआती अग्रता दिलाएका हुन्।
उनले काठमाडौंका डिफेन्डर अञ्जल महर्जनलाई बिट गर्दै कर्नर एरियातर्फबाट गरेको प्रहार माथिल्लो बारतर्फबाट प्रहार गरेका थिए। उक्त बललाई काठमाडौंका गोलकिपर अभिषेक बरालले ठम्म्याउन सकेनन्।
यद्यपि, बल जालीतर्फ जाँदा कमल श्रेष्ठले बचाउने प्रयास गरे पनि सफल हुन सकेनन्। १४औं मिनेटमा ललितपुर दोस्रो गोल थप्यो।
पापा केबेसँग तालमेल मिलाउँदै इमो इजिकेलले बललाई सिक्स यार्ड बक्सभित्र लगेका थिए। उक्त बललाई अभिषेकले बचाए पनि। तर, रिबाउन्डमा आएको बललाई उनले आदित्यतर्फ फ्याँकेका थिए। जसलाई उनले फिनिसिङ गरेका हुन्।
७५औं मिनेटमा डिओपले गोल गर्दै काठमाडौंलाई खेलमा फर्काउने प्रयास गरे। वैकल्पिक खेलाडी जेलेस्पिजंग कार्कीले उपलब्ध गराइदिएको बललाई डिओपले गोलमा परिणत गरेका हुन्। इन्जुरी समयमा भिन्सेन्टले पेनाल्टीमार्पत गोल गर्दै काठमाडौंलाई हारबाट जोगाए।
बल रोक्नेक्रममा योगेश गुरुङले भिन्सेन्टलाई पेनाल्टी बक्सभित्र फउल गरेपछि मुख्य रेफ्री उमेश बिडारीले पेनाल्टी दिएका थिए। जसलाई भिन्सेन्टले जिते।