काठमाडौं। विनोद नेम्वाङको गोलसँगै टुसाल युवा क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगको आफ्नो पहिलो खेलमा हारबाट जोगिएको छ।
सातदोबटोस्थि एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा टुसालले मध्यपुर युथ एसोसिएसनलाई १–१ को बराबरीमा रोकेको हो। योसँगै दुवै टोलीले एक अंक बटुलेका छन्।
४१औं मिनेटमा मध्यपुरले फरवार्ड सन्तोष गोङ्बालेको सेटपीस गोलमार्फत सुरुआती अग्रता लिएको थियो । कप्तान सञ्जय राजवहाकको क्रसलाई उनले गोलकिपर भीम पुनको सामुन्नेबाट हेडरमार्फत गोल गरे।
तर, उक्त अग्रता मध्यपुरले दोस्रो हाफमा कायम राख्न सकेन। खेलको ६६औं मिनेटमा विनोदले बराबरी गोल फर्काए। ईश्वरकुमार चौधरीले दिएको बललाई फ्रि रहेका उनले सहजै गोलमा परिणत गरे।