काठमाडौं। प्यालेस्टिनी अन्तर्राष्ट्रिय मिडफिल्डर जोनाथन कान्टिलाना नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करण खेल्न काठमाडौं आइपुगेका छन्।
एसिया र मध्यपूर्वका विभिन्न शीर्ष लिगमा खेलेको अनुभव बटुलिसकेका उनलाई साबिक विजेता ललितपुर सिटी एफसीले अनुबन्ध गरेको छ।
यसअघि ललितपुरले भुटानी रोनाल्डो भनेर चिनिने चेन्चो ग्याल्तसेन र हाइटीका फरवार्ड केर्वेन्स बेल्फोर्टलाई अनुबन्ध गरिसकेको छ। बेल्फोर्ट भने कान्टिलानसँगै सोमबार काठमाडौं आइपुगिसकेका छन्। ३२ वर्षीय कान्टिलाना चिलीको स्यान्टियागोमा जन्मेका हुन्।
उनले चिलीको प्यालेस्टिनो क्लबबाट आफ्नो व्यवसायिक यात्रा सुरु गरेका थिए। उनले मलेसियाको क्वालालम्पुर एफए, इजिप्टको इएनपिपिआई र इन्डोनेसियाको पिएसआइएस सेमाराङजस्ता क्लबमा खेलेका छन्।
प्यालेस्टाइन राष्ट्रिय टिमबाट ३४ खेल खेलेका उनले १० गोल गरेका छन्।