काठमाडौं। शहब आलम र आकाश चन्दको कसिलो बलिङसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कपमा विजयी सुरुआत गरेको छ।
सोमबार सम्पन्न खेलमा आर्मीले बागमती प्रदेशलाई १३४ रनले पराजित गरेको हो। आर्मीको यो पहिलो खेल हो। बागमतीले भने पहिलो खेलमा एपिएफसँग १०० रनको हार बेहोरेको थियो।
आर्मीले प्रस्तुत गरेको २६३ रनको लक्ष्य पछ्याएको बागमतीले २७ ओभरमा सबै विकेट गुमाउँदै १२८ रन मात्रै बनाउन सक्यो।
बागमतीका विवेक मगरले सर्वाधिक ५१ रन बनाए। ५० बल खेलेका उनले पाँच चौका र तीन छक्का प्रहार गरे।
ईशान पाण्डे १९ र आशुतोष घिरौया १० रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
आर्मीका आलमले सर्वाधिक चार विकेट लिए। आठ ओभर बलिङ गरेका उनले एक मेडनसहित ३३ रन खर्चिए।
आकाशले भने पाँच ओभर बलिङ गर्दै २८ रन खर्चिएर तीन विकेट लिए।