काठमाडौं। रोहित शर्माले पछिल्लो एक वर्षमा धेरै उतारचढाव देखेका छन्। उनले गत वर्ष जुनमा भारतलाई टी–२० विश्वकप च्याम्पियन बनाएका थिए, तर त्यसपछि टेस्ट क्रिकेटमा उनको प्रदर्शन निकै खराब रह्यो।
ब्याटिङ र कप्तानी दुवैमा निरन्तर असफलताका कारण उनी आलोचकहरूको निशानामा परे र उनलाई टोलीबाट हटाउन माग पनि उठ्यो।
उनै रोहितले मार्च ९, २०२५ मा सम्पूर्ण भारतलाई यस्तो खुसी दिएका छन्, जुन पछि उनको आलोचना गर्नेहरूमा ठूलो कमी आउनेछ।
रोहितले च्याम्पियन्स ट्रफी को उपाधि जितेर सीमित ओभरको क्रिकेटमा आफ्नो उत्कृष्ट कप्तानीलाई निरन्तरता दिएका छन्। रोहितले न्युजिल्यान्डविरुद्धको फाइनलमा भारतलाई उत्कृष्ट सुरूआत दिलाए र आफ्नो अर्धशतक प्रहार गर्दै टोलीको जितमा महत्त्वपूर्ण भूमिका खेले।
यो खेलअघि रोहितले एकदिवसीय क्रिकेटबाट सन्न्यासको घोषणा गर्न सक्ने धेरैको अनुमान थियो। तर, खेल पछि पत्रकार सम्मेलनमा उनले सबै अनुमानहरूको अन्त्य गरे।
‘म यो ढाँचाबाट अहिले नै सन्न्यास लिन्न। म यो कुरा स्पष्ट पार्न चाहन्छु ताकि थप हल्लाहरू फैलिन नपाओस्। अहिले कुनै भविष्यको योजना छैन, जे भइरहेको छ त्यो जारी रहनेछ,’ उनले भने।
रोहित ‘प्लेयर अफ द म्याच’ बने। यो ट्रफी जित्नु आफ्नो लागि एकदमै राम्रो अनुभूति रहेको उनले प्रतिकृया दिए।
‘हामीले प्रतियोगिताभरि उत्कृष्ट क्रिकेट खेल्यौं र अन्ततः यसरी हाम्रो कडा परिश्रमको फल पाउनु साँच्चै विशेष छ। म यो खेलमा खेलेको तरिकाबाट धेरै खुसी छु। यो (खेल्ने यो तरिका) मेरो लागि स्वाभाविक होइन, तर यो त्यस्तो चीज थियो जुन म साँच्चै प्रयास गर्न चाहन्थें। जब तपाई केहि नयाँ प्रयास गर्नुहुन्छ, टोलीको समर्थन धेरै महत्त्वपूर्ण हुन्छ र टोली मेरो साथमा थियो। २०२३ को विश्वकपमा, मैले राहुल भाइ र अहिले गौती भाइ (गौतम गम्भीर) बाट पूर्ण समर्थन पाएँ। धेरै वर्षदेखि म फरक शैलीमा खेलेको छु, तर म हेर्न चाहन्थें कि हामी फरक तरिकाले खेलेर पनि राम्रो नतिजा प्राप्त गर्न सक्छौं कि सक्दैनौं भनेर,’ उनले भने।
रोहितले फाइनलमा उत्कृष्ट ब्याटिङ गरिरहेका थिए। उनले शतक बनाउने संकेत देखाएका थिए। तर, उनी स्टम्प भए। स्पिनरविरुद्ध रोहित यसरी आउट भएको विरलै देखिएको छ।
भारतले आफ्ना सबै खेलहरू दुबईमा खेलेको थियो। प्रत्येक खेलमा रंगशालाहरू लगभग भरिएका थिए। भारतले प्रतियोगितामा आफ्ना पछिल्ला तीन खेल चार स्पिनरसँग खेलेको थियो। यसमा सेमिफाइनल र फाइनल खेल समावेश थिए। रोहितले टी–२० विश्वकपमा पनि स्पिनरलाई आफ्नो मुख्य हतियार बनाएका थिए।
‘हाम्रा स्पिनरले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरे। उनीहरूबाट धेरै अपेक्षा थिए र कहिल्यै निराश पारेनन्। पिचले उनीहरूलाई मद्दत गर्यो र हामीले यसको पूर्ण फाइदा उठायौं। प्रतियोगिताभरि हाम्रो बलिङ एकदमै सन्तुलित थियो,’ उनले भने।