काठमाडौं। लिओनल मेसीको निर्णायक असिस्टसँगै इन्टर मियामी हारबाट जोगिएको छ।
टेलास्को सेगोभियाले न्यूयोर्क सिटी एफसीविरुद्ध दोस्रो हाफको इन्जुरी समयको १०औं मिनेटमा गोल गर्दै खेल २-२ को बराबरीमा सक्काएका हुन्।
मेसीले खेलको अन्तिम मिनेटमा सेगोभियालाई उत्कृष्ट थ्रू बल उपलब्ध गराएका थिए। योसँगै उनले अमेरिकी सकर लिग (एमएलएस) को डेब्यु खेलमै गोल गरे। मियामीका मुख्य प्रशिक्षक जेभियर माश्चेरानोले मेसीको प्रतिस्पर्धात्मक मानसिकता टोलीको लागि महत्त्वपूर्ण रहेको बताए।
‘उनी बच्चा जस्तै खेल्छन्, जसले हार्न चाहँदैन। हामी उनलाई यही उत्साहमा राख्न चाहन्छौं, किनभने उनले मैदानमा मात्र होइन, आफ्ना टोली साथीहरूमा पनि ऊर्जा भर्न सक्छन्,’ उनले भने।
खेलको पाँचौं मिनेटमै मेसीको पासमा टोटो आविलेसले मियामीलाई १-० को अग्रता दिलाएका थिए। तर, टोटोले पहिलो हाफमै रातो कार्ड पाएपछि मियामी १० खेलाडीमा सीमित भएको थियो। यसैको फाइदा उठाउँदै न्यूयोर्कका मिट्जा इलेनिकले उत्कृष्ट फ्री किक सेटअपबाट गोल गर्दै खेललाई बराबरीमा ल्याए।
मियामी दोस्रो हाफको अधिकांश समय २-१ को पछाडि थियो। न्यूयोर्कका अलोन्सो मार्टिनेजले मियामीका जोर्डी अल्बाको गल्तीको फाइदा उठाउँदै ५५औं मिनेटमा गोल गरे।
तर, पछिल्लो सिजनका एमएलएस एमभीपी मेसीले अन्तिम समयमा आफ्नो टोलीलाई हारबाट जोगाए। तीन दिनअघि मात्रै स्पोर्टिङ क्यान्सस सिटीविरुद्ध विजयी गोल गरेका मेसीले यो खेलमा पनि आफ्नो प्रभाव देखाए।
मियामी पछिल्लो सिजन ईस्टर्न कन्फरेन्स विजेता बनेको थियो। यो सिजन पनि आफ्नो वर्चस्व कायम राख्न चाहन्छ। माश्चेरानोको नेतृत्वमा मियामीले सफलता दोहोर्याउने लक्ष्य राखेको छ।