काठमाडौं। वैकल्पिक खेलाडी डानी ओल्मोको सानदार प्रदर्शनसँगै बार्सिलोनाले आइतबार लास पाल्मासविरुद्ध २–० को जित हात पारेको छ।
नोभेम्बरमा घरमै लास पाल्माससँग अप्रत्याशित हार बेहोरेको बार्सिलोनाले यो जितसँगै बदला पनि लिन सफल भयो। योसँगै बार्सिलोनाले स्पेनी लिगको शीर्ष स्थान सुरक्षित राखेको छ।
बार्सिलोनाको २५ खेलबाट ५४ अंक पुगेको छ। समान खेल खेलेको एट्लेटिको मड्रिडको भने एक अंक कम छ, जसले शनिबार नै भ्यालेन्सियालाई ३–० ले हराएको थियो।
‘लास पाल्मास राम्रो डिफेन्स गर्ने टोली हो, जसले हाम्रो आन्तरिक पासिङ लेन बन्द गरिरहेको थियो। त्यसैले हामीले धैर्य राख्नुपर्यो,’ ओल्मोले भने, ‘तर, दोस्रो हाफमा स्पेसहरू खुल्दै गए, जसले गर्दा गोल गर्न सफल भयौं।’
ओल्मो दोस्रो हाफमा मैदान प्रवेश गरेका हुन्। तर, मैदान छिरेको १६ मिनेटपछि नै उनले बार्सिलोनालाई सुरुआती अग्रता दिलाए। उनले ६२औं मिनेटमा लमिन यामालको पासमा गोल गरे। अर्को गोल भने फेरान टोरेसको नाममा रह्यो। उनले इन्जुरी टाइममा दोस्रो गोल गर्दै बार्सिलोनाको जित पक्का गरेका हुन्।
बार्सिलोनाले मंगलबार कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा एटलेटिको मड्रिडको सामना गर्नेछ।