इन्टर स्कुल लिग विजेता दीपकलाई भूपू सैनिकले पूर्ण छात्रवृत्ति दिने

काठमाडौं। यु–१४ इन्टर स्कुल युथ फुटबल लिग विजेता टोली भूपू सैनिक इङ्लिस सेकेन्डरी स्कुल वालिङका खेलाडी दीपक दर्जीले पूर्ण छात्रवृत्ति पाउने भएका छन्।
सोमबार सम्पन्न फाइनलमा भूपू सैनिकले श्री ज्ञानोदय इङ्लिस बोर्डिङ स्कुललाई टाइब्रेकरमा पराजित गर्दै उपाधि जितेको थियो। टाइब्रेकरमा दीपकले पनि गोल गरेका थिए।
प्रतियोगिता आयोजक वालिङ युनाइटेड फुटबल क्लब र सहभागिता १४ विद्यालयबीच भएको सम्झौता अनुसार भूपू सैनिकले दीपकलाई पूर्ण छात्रवृत्ति दिन लागेको हो। दीपक फाइनल खेलका ‘म्यान अफ द म्याच’ घोषित भएका थिए।
उनी नै प्रतियोगिताको ‘सर्वोत्कृष्ट खेलाडी’ रहे। भूपू सैनिकका प्रधानाध्यापक सोमुमाया राणाका अनुसार दीपकले छात्रवृत्ति आगामी सत्रमा प्राप्त गर्नेछन्।
‘दीपकलाई आउने सत्रमा छात्रवृत्ति दिने निर्णय गरेका छौं,’ उनले भनिन्। यसखाले प्रोत्साहनले आगामी दिनमा प्रतियोगितामा सहभागी हुन अभिवाकलाई अझ प्रेरित गर्ने आयोजकले जनाएको छ।