काठमाडौं। म्यानचेस्टर युनाइटेड र टोटनह्यामले घरेलु लिगमा अस्थिर प्रदर्शनलाई पछाडि राख्दै बिहीबारको खेलबाट युरोपा लिगको अन्तिम १६ मा स्थान सुरक्षित गरे।
बुखारेस्टमा रोमानियाली च्याम्पियन एफसीएसबीविरुद्ध युनाइटेडले २–० को विजय हासिल गर्यो। खेलको ६०औं मिनेटमा डिओगो डालोटले कोबी मैनुको सटिक क्रसलाई सदुपयोग गर्दै सुरुआती गोल गरे। आठ मिनेटपछि मैनु आफैंले गोल गर्दै टोलीको जित सुनिश्चित गरे।
उता लन्डनमा टोटनह्यामले स्विडिश क्लब एल्फ्सबर्गलाई ३–० ले हरायो। वैकल्पिक खेलाडी डेने स्कार्लेटले खेलको ७०औं मिनेटमा खाता खोले। त्यसपछि डामोला अजायी र १७ वर्षीय माइकी मूरले थप दुई गोल गर्दै सहज जित दिलाए।
नयाँ संरचनामा ३६ मध्ये शीर्ष आठ टोलीले सिधै अन्तिम १६ मा स्थान सुरक्षित गरे। नवौंदेखि २४औं स्थानसम्मका टोलीहरू फेब्रुअरी १३ र २० मा हुने प्लेअफका लागि छनोट भए। विजेताहरू अन्तिम १६ मा पुग्नेछन्।