एन्फा र क्लब फकाउने, खेलाडीहरू नमान्ने !
-1763904378702.png&w=3840&q=75)
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘ए’ डिभिजन लिगका क्लबहरूले राष्ट्रिय लिगमा सहमति जनाउन फुटबल खेलाडी संघका पदाधिकारीसँग अनुरोध गरेका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको त्रिपक्षीय बैठकमा एन्फा र ‘ए’ डिभिजन लिगका पदाधिकारिहरूले पुस ९ गतेदेखि सञ्चालन हुने घोषणा गरिएको राष्ट्रिय लिगमा सहमति जनाइदिन खेलाडी संघका पदाधिकारीसँग अनुरोध गरेका हुन्।
एन्फाको प्रस्तावमा ‘ए’ डिभिजन क्लबले पुस ९ गतेदेखि राष्ट्रिय लिगमा सहभागी हुने सहमति गरेका थिए। फुटबल खेलाडी संघले विगत ३ वर्षदेखि ‘ए’ डिभिजन लिग नभएको भन्दै राष्ट्रिय लिग नखेल्ने र पूर्व घोषणाअनुसार डिभिजन फुटबल सञ्चालन गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएको थियो।
खेलाडीहरूको आन्दोलनपछि एन्फाले क्लब र खेलाडीसहितको बैठक आइतबार बोलाएको थियो।बैठकको सुरुआतमा एन्फा सिइओ तथा संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले खेलाडीहरूको हितलाई ध्यानमा राखेर राष्ट्रिय लिगको घोषणा गरिएको बताएका थिए।
‘यो खेलाडीकै हितमा राखेर सहमति गरिएको लिग हो। एन्फाको प्रस्तावमा तयार भएको लिगमा सहमति जनाएर सहयोग गरिदिन खेलाडीहरूसँग अनुरोध गर्छु,’ उनले भनेका थिए। उनले अर्को वर्ष ‘नकआउट र होम एन्ड अवे’ लिगको तयारी गरिएको बताउँदै खेलाडी संघका पदाधिकारीलाई ‘कन्भिन्स’ गर्न प्रयास गरेका थिए।
हिमालयन शेर्पाका अध्यक्षसमेत रहेका एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले क्लबसँग भएको सहमति कार्यान्वयन गर्न फुटबल संघसँग माग गरेका थिए। शेर्पाले एफसीको क्लब लाइसेन्सिङ प्रक्रियाको कार्यान्वयन गर्ने सवालमा एन्फाले तयारी गर्नुपर्ने धारणा राखेका थिए।
‘एएफसीको क्लब लाइसेन्सिङ प्रक्रिया पूरा नभएसम्म डिभिजन लिग फुटबल खेल्न क्लबहरूलाई गाह्रो हुन्छ। त्यसका लागि क्लबहरूलाई एन्फाले आवश्यक सहजिकरण र सहयोग गर्नुपर्छ,’ उनले भनेका थिए।
खेलाडी संघका अध्यक्ष विक्रम लामाले राष्ट्रिय लिगले मात्र घरेलु फुटबल चल्न नसक्ने बताउँदै डिभिजन फुटबलको स्पष्ट खाका सार्वजनिक गर्न एन्फासँग माग गरेका छन्। १० महिनाअघि गरेको लिगसम्बन्धी निर्णय किन कार्यान्वयन नगरेको ? भन्दै उनले बैठकमा प्रश्न गरेका थिए।
बैठकमा लामाले प्रश्न गर्दै भने, ‘तीन वर्षदेखि ए डिभिजन लिग भएको छैन। खेलाडी बेरोजगार छन्। तरऽ यो समयमा एन्फाका कुन कर्मचारी र पदाधिकारीको तलब रोकिएको छ।’
डिभिजन फुटबलसहित महिला लिग, जिल्ला लिगको तालिकासमेत सार्वजनिक गर्न उनले एन्फासँग माग गरेका छन्। एन्फाको कमजोरीका कारण फुटबलले गति लिन नसकेको बताउँदै उनले ‘ए’ डिभिजन मात्र नभएर सबै डिभिजनको लिगको ग्यारेन्टी हुनुपर्ने अडान दोहर्याएका थिए।
खेलाडी संघको अडानपछि पुन: छलफल गरेर सहमति जुटाउने भन्दै आइतबार बैठक स्थगित गरिएको छ। अब क्लब, खेलाडी र एन्फाबीच कार्यदल बनाएर डिभिजन फुटबलसहित फुटबलमा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा सहमति जुटेको छ।














