काठमाडौं। कप्तान कुशल मल्ल र रवी बोपाराको शतकीय साझेदारीसँगै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ड्सलाई १८१ रनको विशाल लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १८० रन बनाएको हो।
चितवनका कुशलले सर्वाधिक ७२ रन बनाए। ४१ बल खेलेका उनले तीन चौका र सात छक्का प्रहार गरे। रवीले ४४ रनको योगदान दिए। यी दुई ब्याटरबीच चौथो विकेटका लागि ११३ रनको साझेदारी भएको थियो। कुशल १८.४ ओभरमा जिम्मी निसमको फुल टस बल प्रहार गर्ने धुनमा जनकपुरका कप्तान अनिलबाट क्याच आउट भए। रवी अन्तिम ओभरमा अनिलबाटै क्याच आउट भए।
चितवनका ओपनर हसन इसाखिल २८, सन्तोष कार्की १४ रनमा आएट हुँदा बसिल हामेद दुई र सोहेल तनवीर पाँच रनमा अविजित रहे।
जनकपुरका ललितनारायण राजवंशीले सर्वाधिक दुई विकेट लिए। चार ओभर बलिङ गरेका उनले दुई मेडनसहित ११ रन खर्चिए। हर्ष ठाकर, मोहम्मद मोहसिन र निसमले समान एक विकेट हात पारे।