काठमाडौं। रोमन रेइफरले अन्तिम ओभरमा दुई छक्कासहित १७ रन जोडेसँगै तेस्रो जितको प्रयासमा रहेको पोखरा एभेजर्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गुर्खाजसामु १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर पहिला बलिङ रोजेका हुन्। उक्त निर्णयलाई स्वागत गर्दै क्रिजमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३८ रन बनायो।
पोखराका ओपनर आन्द्रेस गौउस चल्न सकेनन्। कप्तान कुशल भुर्तेल पनि सात रनमा पभिलियन फर्किए। तर, ओपनर दिनेश खरेलले उत्कृष्ट ब्याटिङ देखाउँदै ३८ रनको योगदान दिए।
२५ बल खेलेका उनले ६ चौका र एक छक्का प्रहार गरे। चौथो नम्बरमा आएका दिलिप नाथले पनि २७ रन थपिदिए। यही खेलमा डेब्यु गरेका आकर्षित गोमेल आठ, माइकल लीस्क एक, नारायण जोशी शून्य रनमा आउट हुँदा रेइफर ४१ रनमा अविजित रहे।
३० बल खेलेका उनले एक चौका र तीन छक्का प्रहार गरे। काठमाडौंका करण र राशिद खानले सानदार बलिङ देखाउँदै समान तीन विकेट लिए। ग्रेहार्ड इरास्मस र माइकल लेभिटको नाममा समान एक विकेट रह्यो।