काठमाडौं । माछापुछ्रे र अन्नपूर्ण पारा राष्ट्रिय खेलकुद च्याम्पियनसिप अन्तर्गत नेत्रहीन महिला क्रिकेट प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा मुल्पानीको माथिल्लो मैदानमा भएको खेलमा माछापुछ्रेले सगरमाथालाई १० विकेटले पराजित गर्यो ।
पहिले ब्याटिङ गरेको सगरमाथाले निर्धारित १५ ओभरमा ६ विकेट गुमाइ १४५ रनको योगफल खडा गर्यो । सगरमाथाकी विमला राईले नटआउट ४८ रन जोडिन् ।
जवाफमा माछापुछ्रेले ११ ओभरमा कुनै विकेट नगुमाइ लक्ष्य भेटाउने क्रममा १४६ रन बनायो । मनकेशरी चौधरीले ८८ तथा हिता गुरुङले ४० रन बनाए । दुवै नटआउट रहे ।
अर्को खेलमा अन्नपूर्णले धौलागिरीलाई १३७ रनको विशाल अन्तरले हरायो । सुरुमा ब्याटिङ गरेको अन्नपूर्णले निर्धारित १५ ओभरमा मात्र १ विकेट नोकसानीमा २४४ रन जोडेको थियो । विनिता पुनले १६९ र निमा बिसीले ६० रन जोडे ।
धौलागिरी १५ ओभरमा ५ विकेट क्षतिमा १०६ रनमा समेटियो । धौलागिरीकी आशिका चौधरीले ३७ रन बनाइन् । ४ टिम सहभागी प्रतियोगिताको फाइनल बुधबार हुनेछ ।