काठमाडौं । केन्द्रिय स्तरको राष्ट्रपति रनिङ सिल्डमा ६ सय ८६ खेलाडी सहभागी हुने भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् राखेपले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगितामा सहभागी हुने खेलाडीको संख्याबारे जानकारी गराएको हो ।
प्रतियोगितामा स्थानीय तह, जिल्ला तथा प्रदेश छनोटबाट आएका सातै प्रदेशका ६ सय ८६ खेलाडी सहभागी हुने बताईएको छ ।
युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजनामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बैशाख ४ देखि ६ गतेसम्म काठमाडौंमा आयोजना हुदैछ ।
राखेप सदस्य सचिव टंकलाल घिसिङले प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो र उसु खेलमा ६६ स्वर्णका लागि खेलाडीबीच प्रतिस्पर्धा हुने जानकारी गराए ।
एथलेटिक्सको छात्र-छात्रामा समान १३ गरि २६ स्वर्ण, कराँते, तेक्वान्दो र उसुको समान ६ गरि ३६ स्वर्ण तथा भलिबल र कबड्डीको छात्र-छात्रा समान एक एक गरि ४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको राष्ट्रपति रामचन्द्र पौडेलले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बैशाख ४ गते उद्घाटन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
कुल ११ लाख ५२ हजार पुरस्कार राशी रहेको प्रतियोगिताको कुल बजेट १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
लुम्बिनी प्रदेश गत संस्करणको विजेता प्रदेश हो । उसले पछिल्ला तीन संस्करणमा टिम च्याम्पियन बनेर रनिङ शिल्ड आफ्नो बनाईसकेको छ ।
सदस्य सचिव घिसिङले पत्रकार सम्मेलनमा प्रतियोगिताको नयाँ सिल्ड समेत सार्वजनीक गरेका थिए ।