भरतपुर । अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला परिसरमा प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
प्रदेश खेलकुद विकास परिषद् बागमतीको आयोजनामा ७ प्रदेश सहभागी प्रतियोगिताको पहिलो संस्करणको सुरुवात गरिएको हो ।
प्रतियोगितालाई उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले गौतमबुद्ध क्रिकेट रंगशालाका लागि आवश्यक बजेटको ब्यवस्था सरकारले गर्ने बताएका थिए । उनले खेलकुद पूर्वाधार निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै प्रचण्डले रंगशाला निर्माणमा सरकारले पर्याप्त बजेटको ब्यवस्था गर्ने बताएका थिए ।
चितवनको भरतपुरमा सुरु प्रतियोगितामा ९ वटा खेल विधालाई समावेश गरिएको छ । प्रतियोगितामा एथलेटिक्स, भलिबल, फुटबल, कराँते, तेक्वान्दो, बक्सिङ, पौडी, ब्याडमिन्टन र क्रिकेट गरि ९ खेल स्पर्धा समावेश छन् ।
प्रतियोगितामा १ सय ३६ स्वर्ण, १ सय ३६ रजत र १ सय ८४ काँस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सातै प्रदेशका १ हजार ५ सय ४७ खेलाडी सहभागी हुने प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्य सचिव सुर्यलाल भण्डारीले जानकारी दिए ।
प्रतियोगिता बैशाख १ गतेसम्म सञ्चालन हुनेछ ।