भरतपुर । अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको पहिलो संस्करण आईतबार भरतपुरमा सुरु हुदैछ ।
प्रदेश खेलकुद विकास परिषद् बागमतीको आयोजनामा ७ प्रदेश सहभागी प्रतियोगिताको पहिलो संस्करण आयोजना हुन लागेको हो ।
प्रतियोगितालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन कार्यक्रम भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ ।
बागमती प्रदेशले आयोजना गरेको पहिलो संस्करणका अधिकांश खेललाई चितवनको भरतपुरमा केन्द्रित गरिएको छ । समापन हेटौडाको गौरीटार रंगशालामा गर्ने तालिका छ ।
देश संघीय संरचनामा गएपछि बागमती प्रदेशले सुरुवाती दुई संस्करण प्रदेश स्तरीय प्रतियोगिताको आयोजना गरेको थियो । तेस्रो संस्करणमा आएर बागमतीले सातै प्रदेशलाई समावेश गरेर नयाँ प्रतियोगिताको ढाँचा सुरुवात गरेको हो ।
अन्तर प्रदेश खेलकुद प्रतियोगिता संघीय सरकारले आयोजना गर्ने राष्ट्रिय खेलकुद प्रतियोगिता नहुने वर्षमा सञ्चालन गर्ने योजना छ । संघीय सरकारले हरेक दुई वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने गर्छ । प्रतियोगिताको १० औं संस्करण अर्को वर्ष कर्णाली प्रदेशमा आयोजना हुदैछ ।
राष्ट्रिय खेलकुद प्रतियोगिता नहुने वर्षमा अन्तर प्रदेश खेलकुद आयोजना गर्ने समझदारी प्रदेशहरु बीच बनेको छ । जसको पहिलो संस्करण बागमतीबाट सुरुवात हुन लागेको हो ।
अन्तर प्रदेश खेलकुदलाई राष्ट्रिय खेलकुद प्रतियोगिता जस्तै आलोपालो गरि अन्य प्रदेशले आयोजना गर्ने सहमती सातै प्रदेशको संयुक्त बैठकले गरेको थियो ।
भरतपुरमा सुरु प्रतियोगितामा ९ वटा खेल विधालाई समावेश गरिएको छ । प्रतियोगितामा एथलेटिक्स, भलिबल, फुटबल, कराँते, तेक्वान्दो, बक्सिङ, पौडी, ब्याडमिन्टन र क्रिकेट गरि ९ खेल स्पर्धा समावेश छन् ।
प्रतियोगितामा १ सय ३६ स्वर्ण, १ सय ३६ रजत र १ सय ८४ काँस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सातै प्रदेशका १ हजार ५ सय ४७ खेलाडी सहभागी हुने प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्य सचिव सुर्यलाल भण्डारीले जानकारी दिए ।
संघीय संरचना अनुसार प्रदेश खेलकुदको जग बसाउन अन्तर प्रदेश खेलकुद प्रतियोगिताको सुरुवात गरिएको सदस्य सचिव भण्डारीले बताए ।
‘प्रतियोगिताको आयोजनाबाट प्रदेश खेलकुदको जग बस्छ भन्ने विश्वास हो । यसले प्रदेश बीच प्रतिस्पर्धाको भावना विकास गराउने र समग्र खेलकुदको विकासमा टेवा पुग्न मदत गर्नेछ ।’ भण्डारीले भने ।
प्रतियोगिताको समापन बैशाख १ गते हेटौडाको गौरीटार रंगशालामा फुटबल खेलको फाइनलसँगै हुनेछ ।