काठमाडौं । अनलाईन दुर्व्यवहारविरुद्धको विश्वब्यापी अभियानमा ई स्पोर्ट्स संघ, नेपाल (इशान) र नेपाल अटोमोबाईल्स एसोसियसन (नासा नेपाल)बीच सहकार्य गर्ने समझदारी बनेको छ ।
अनलाईन एब्युजविरुद्ध विश्वब्यापी अभियानको थालनी गरेको फेडेरेसन अफ इन्टरनेश्नल अटोमोबाईल्सको नेपाल च्याप्टर नासा नेपालसँग नेपालको ई स्पोर्ट्सको क्षेत्रमा काम गर्ने संस्था ईशानले सहकार्य गरेको हो ।
नासा नेपाल, नेपालको मोटर स्पोर्ट्सको क्षेत्रमा काम गर्ने आधिकारिक संस्था रहेको छ ।
शनिबार एक कार्यक्रमका बीच ईशानका अध्यक्ष अन्जन धमला र नासा नेपालका कार्यकारी निर्देशक गोबिन्द भट्टराईले संयुक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
अनलाईन एब्युजविरुद्धको अभियानमा देशभित्र दुवै संस्थाले सहकार्य गर्ने र अनलाईन एब्युजबाट खेलाडी, परम्परागत खेल र ई स्पोर्ट्सलाई सुरक्षित राख्न दुवै संस्थाले काम गर्ने सम्झौतामा उल्लेख छ ।
नासा नेपालको अन्तराष्ट्रिय संस्था एफआईएले ईन्टरनेश्नल ई स्पोर्ट्स फेडेरेसनसँग मिलेर अनलाईन एब्युजको विश्वब्यापी अभियानको थालनी गरेको हो । नेपालमा एफआईएको नेपाल च्याप्टर नासा नेपालसँग मिलेर इशानले यो अभियानको सुरुवात गरेको हो ।
नासा नेपालका कार्यकारी निर्देशक गोबिन्द भट्टराईले नेपालको ई स्पोर्ट्सको विकासमा ईशानसँग मिलेर काम गरिने बताए । उनले अनलाईन एब्युजविरुद्धको अभियानमा ईशानले नेतृत्व गरेर अघि बढ्ने धारणा राखे ।
ईशानका अध्यक्ष अन्जन धमलाले नासा नेपालसँगको सहकार्यले नेपालको ई स्पोर्ट्सको विकासमा टेवा पुग्ने बताए । उनले ई स्पोर्ट्सको माध्यमबाट देशको गौरव विश्वभर फैलाउन नासा नेपालसँगको सम्झौताले सहयोगी भुमिका खेल्ने उल्लेख गरे ।