काठमाडौं । तेश्रो ओलम्पियन्स पुनर्मिलन तथा स्पोर्ट सेलिब्रेटी मिट– २०२४ कोशी प्रदेशको सुनसरीस्थित इटहरीमा हुने भएको छ ।
कार्यक्रमका लागि प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशका सदस्य–सचिव हंशराज वाग्ले र ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार खेलकुद विकास बोर्ड कार्यक्रमको आयोजक रहने छ भने ओलम्पियन्स संघले कार्यक्रमको संयोजन गर्ने छ । कार्यक्रम २०८१ को बैशाख २० गते हुने छ ।
कार्यक्रमको पहिलो संस्करण काठमाडौं तथा दोश्रो गत वर्ष पोखरामा भएको थियो । ओलम्पियन्स संघको नेतृत्वमा दीपक विष्ट आएपछि यो कार्यक्रमको सुरुआत गरिएको हो । देशभर छरिएर रहेका ओलम्पियनलाई एकै ठाउँमा भेला गराउने उद्देश्यले कार्यक्रमको सुरुआत गरिएको अध्यक्ष विष्टले बताए ।
विष्टका अनुसार यो पटकको कार्यक्रमको नयाँ पक्ष भनेको विदेशी ओलम्पियनका साथै विदेशमा रहेका नेपाली ओलम्पियनको पनि कार्यक्रममा सहभागिता रहने छ ।
कार्यक्रमका दिन बिहान वाकाथन हुने छ । वाकाथनमा कोशी प्रदेशमा रहेका खेलाडी र ओलम्पियनलगायतको सहभागिता रहने छ । वाकाथनपछि त्यसै दिन एक भब्य समारोहबीच १९८८ को सिओल ओलम्पिकमा सहभागी नेपाली ओलम्पियनलाई सम्मान गरिने छ ।
१९८८ को सिओल ओलम्पिकमै तेक्वान्दोका विधान लामाले प्रदर्शनी खेलमा कांस्य पदक जितेका थिए । लामा पनि अमेरिकाबाट नेपाल आउने अध्यक्ष विष्टले जानकारी गराए ।
ओलम्पियन्स संघले विगतका दुई संस्करणमा १९६४ देखि १९८४ का दौरान भएका विभिन्न ५ संस्करणमा सहभागी नेपाली ओलम्पियनलाई सम्मान गरिसकेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो प्रदेशमा ओलम्यिनहरुको पुनर्मिलन कार्यक्रम हुनु खुशीको कुरा भएको बताउदै ओलम्पियनहरुलाई स्वागत गर्न आतुर रहेको बताए ।
सदस्य–सचिव वाग्लेले ओलम्पियनहरुको पुनर्मिलन कार्यक्रमले कोशी प्रदेशका खेलाडीमा उत्साह थपिने बताउदै प्रदेशको पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।