काठमाडौँ। युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि भएको कारबाहीको विषयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)सँग जानकारी माग गरेको छ।
मन्त्रालयले राखेपलाई पत्र लेख्दै स्वीकृति नलिएर विश्वकप छनोटमा पदाधिकारी पठाउने एन्फालाई कानुनअनुसार कारबाही गरेर जानकारी गराउन निर्देशन दिएको थियो। तर, हालसम्म कुनै जानकारी प्राप्त नभएको भन्दै राखेपसँग मन्त्रालयले जवाफ मागेको हो।
मन्त्रालयले एन्फामाथि गरिएको कारबाहीको जानकारी अविलम्ब गराउन राखेपलाई पत्राचार गरेको छ। फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत बहराइनमा भइरहेको खेलमा खेलाडी र आवश्यक अफिसियलका अतिरिक्त अनावश्यक व्यक्ति जाने भएपछि मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको थियो।
मन्त्रालयले खेलकुद ऐन अनुसार राखेपसँग स्वीकृति नलिएर विदेश पठाउने एन्फालाई कारबाहीका लागि निर्देशन दिएको थियो। मन्त्रालयको ध्यानाकर्षण र राखेपको स्वीकृति बेगर नै एन्फाका अतिरिक्त ८ अधिकारी बहराइन भ्रमणमा उडेका थिए।
यसरी बहराइन जाने टोलीमा एन्फा कार्यसमिति सदस्यद्वय लामा र विष्ट, उदयपुर जिल्ला फुटबल संघका अध्यक्ष रञ्जन कार्की, झापाका शेरबहादुर बस्नेत र श्री भगवती क्लबका राजकाजी श्रेष्ठ, जिल्ला सदस्य डोलेशकुमार केसी, महेशचन्द्र महत र भरतबहादुर क्षेत्री छन्। उनीहरू गत चैत ६ गते त्यसतर्फ प्रस्थान गरेका थिए।
मन्त्रालयको निर्देशनपश्चात् राखेपले पटकपटक एन्फासँग स्पष्टीकरण सोधेको थियो। राखेपले एन्फाले पठाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको ठहर गरेको छ। तर, सचेत गराउनेबाहेक अन्य कारबाहीको विषय सार्वजनिक भएको छैन।