काठमाडौँ । १९औँ विश्व मुवाथाई च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले स्वर्ण जितेका छन्। थाइल्यान्डको बैँककमा जारी प्रतियोगितामा मंगलबार गुणराज रुचाल र परिका बतासले नेपाललाई स्वर्ण दिलाएका हुन्।
सेमी प्रोको पुरुष ५४ केजी फाइनलमा इटालिका ग्राबिएल ओलारिउलाई पराजित गर्दै रुचालले स्वर्ण जिते। नेपाल राष्ट्रिय मुवाथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिका अनुसार यसअघि विश्व च्याम्पियनसिपको सेमी प्रोमा कुनैपनि नेपाली खेलाडीले स्वर्ण जितेका थिएनन्।
विश्व च्याम्पियनसिपको आठौं सहभागितामा गुणराज स्वर्ण जित्न सफल भएका हुन्। गुणराजको उपलब्धी मुवाथाईमा कुनैपनि नेपाली खेलाडीले हासिल गरेको उच्च हो।
यसअघि पलिस्था कक्षपतिले २०१९ तथा सञ्जय राईले २०१७ मा भएको विश्व च्याम्पियनसिपमा स्वर्ण जितेका थिए । पलिस्था र सञ्जयले भने एमेच्योरतर्फ स्वर्ण जितेका थिए।
यस्तै, परिकाले मौरिससकी रानिनी कुण्डासामीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन्। एमेच्योरतर्फ महिला ४५ केजीमा परिकाले तीनपटककी विश्व च्याम्पियन मरिसियसकी रानीनी कुन्डास्वामीलाई पराजित गरी स्वर्ण जितेकी हुन्।
एमेच्यारतर्फ पुरुष ५१ केजीमा सुशिल शाह ठकुरीले रजत तथा ५७ केजीमा गुमान घर्ती मगरले कांस्य जिते।