काठमाडौं । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाली खेलकुद एकैदिनमा उधो गतिमा नपुगेको बताएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्ज एनएसजेएफको आयोजनामा मंगलबार भएको अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले चरणवद्ध रूपमा नेपाली खेलकुद उधो गतिमा गएको धारणा राखेका हुन् ।
मंगलबार मञ्चले मन्त्री श्रेष्ठसँग परिचयात्मक र अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी ‘देवेन्द्र’ ले नवनियुक्त खेलकुद मन्त्री श्रेष्ठलाई स्वागत गरेका थिए । सो अवसरमा मन्त्री श्रेष्ठले नेपालको खेलकुद विकासका लागि बजेट अपर्याप्त रहेको बताएका छन् ।
‘नेपाली खेलकुदमा आउने बजेट धेरै न्युन र अपर्याप्त छ । चाहे जस्तो खेलकुद विकास गर्न यो बजेट पर्याप्त छैन ।’मन्त्री श्रेष्ठले भने ।
देशभित्र राष्ट्रिय एकतामा कमि आइरहेको अवस्थामा त्यसमा काम गर्न खेलकुद क्षेत्र आफ्नो रोजाइमा परेको मन्त्री श्रेष्ठले प्रष्ट्याएका छन् । उनले मन्त्रालयलाई अधिकारबाट सीमित गरिएको पनि बताएका छन् ।
‘खेलकुद मन्त्रालयले जिम्मेवारी लिनुपर्ने धेरै छन् । तर, अधिकारको सबालमा भने मन्त्रालयलाई सीमित घेरामा राखिएको छ,’मन्त्री श्रेष्ठले भने ।
मन्त्री श्रेष्ठले सरोकार निकाय राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी एनओसी र खेल संघबीच ट्य्रान्गुलर आकारमा रहेकाले नेपाली खेलकदको विकास राम्रोसँग हुन नसकेको औंल्याएका छन् ।
खेलको वर्गीकरण नेपाली खेलकुदको आवश्यकता बनेको मन्त्री श्रेष्ठको विश्वास छ ।
नेपालका खेल संघहरू हराइरहेको आभास आफूलाई भइरहेको मन्त्री श्रेष्ठ बताउँछन् । संघहरूले आफूलाई नयाँ ढंगले अगाडि बढाउन सके मात्र खेलकुदको विकास सम्भव हुने बताएका छन् ।
आइओसीको चार्टरभित्र रहे पनि नेपाल ओलम्पिक कमिटी नेपालको कानुनभित्र पनि रहेर काम गर्नुपर्ने मन्त्री श्रेष्ठले भनाई थियो ।