काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपले खेलकुद संघलाई प्रतियोगिताको वार्षिक क्यालेन्डर बनाउन निर्देशन दिएको छ ।
राखेप सदस्य सचिव टंकलाल घिसिङ मंगलबार खेल संघलाई छलफलमा बोलाएर कार्यक्रमको मिति निर्धारण गर्न निर्देशन दिएका हुन् ।
युवा तथा खेलकुद मन्त्रालयका नवनियुक्त मन्त्री विराजभक्त श्रेष्ठले पदभार ग्रहण गर्दै राखेपलाई प्रतियोगिताको क्यालेन्डर बनाउन निर्देशन दिएका थिए ।
सोही अनुसार राखेपले खेल संघलाई बोलाएर चालू आर्थिक वर्षको कार्यक्रमको मिति यथासिघ्र निर्धारण गर्न निर्देशन दिएका हुन् ।
त्रिपुरेश्वरस्थित राखेप परिसरमा अखिल नेपाल फुटबल संघ, नेपाल आर्चरी संघ, नेपाल जुडो संघ, नेपाल हक्की संघ, नेपाल रिङ रेस्लिङ संघ, अखिल नेपाल टेबलटेनिस संघ, नेपाल बक्सिङ महासंघ, नेपाल खो खो संघ, नेपाल रग्बी संघलगायतका पदाधिकारीसँग सदस्य सचिव घिसिङले छलफल गरेका थिए ।
बैठकमा सदस्य–सचिव घिसिङले संघको पेश्की, बेरुजु, संघ नवीकरण र निर्वाचनलगायतका विषयमा पनि चासो व्यक्त गरेका थिए ।
संघहरु व्यवस्थित नहुँदा खेलकुदका कार्यक्रमहरु क्यालेन्डर अनुसार चल्न सकेका छैनन् ।
प्रतियोगिताहरु नियमित र व्यवस्थित नहुँदा खेलाडी पलायन हुने अवस्था छ भने खेलकुद क्षेत्रले आशातित सफलता हासिल गर्न सकेको छैन ।