काठमाडौं । अखिल नेपाल कबड्डी संघको आयोजनामा पुरुष तथा महिला कबड्डी सुपर लिग बुधबारदेखि सुरु भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा पहिलो दिन पुरुषमा नेपाल आर्मीले एपीएफलाई ३९–२२ ले पराजित गर्यो ।
आर्मीका प्रदीप मिजार ‘म्यान अफ द म्याच’ घोषित भए । पुरुषमै नेपाल प्रहरी क्लबले उपत्यका टोलीबाट वाक ओभर पाएको आयोजकले जनाएको छ ।
नारी दिवसका अवसरमा आयोजित प्रतियोगिताको महिलामा प्रहरीले एपीएफलाई ३८–३० ले हरायो । प्रहरीकी मानमति विष्ट ‘वोमन अफ द म्याच’ चुनिइन् ।
प्रतियोगिताको राखेपका पूर्व उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका उप–महासचिव पिताम्बर तिम्सिनाले एक कार्यक्रमबीच उद्घाटन गरे ।
दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार र ११ हजार नगद पुरस्कार प्राप्त गर्ने कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन् ।
प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई २ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने छ ।
पुरुषमा ४ र महिलामा ३ टिम सहभागी छन् । सिंगल राउन्ड रोविनमा शीर्ष २ स्थानमा रहने टिमबीच उपाधि भिडन्त हुनेछ । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।