पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले अन्तर प्रदेश राष्ट्रिय खेलकुदको तयारी सुरु गरेको छ ।
प्रदेश खेलकुद विकास परिषद बागमतीको आयोजना हुने प्रतियोगिताको लागि परिषदले विभिन्न खेलका प्रदेश संघका अध्यक्षसंग बैठक बसेर तयारी सुरु गरेको हो ।
प्रतियोगिता अन्तर्गत ९ खेल समावेश भए पनि तयारी बैठकमा गण्डकी प्रदेश भलिबल संघ अनुपस्थित रहेको परिषदले जनाएको छ ।
बागमती प्रदेशस्तरीय प्रतियोगिता यहि चैत्र २ गतेबाट औपचारिक रुपमा सुरु हुने भए पनि केही खेलहरु त्यस अगावै सञ्चालन हुने सदस्य सचिव श्रीधर शर्माले जानकारी दिएका छन् ।
प्रतियोगिता अन्तर्गत महिला-पुरुष फुटबल, क्रिकेट, भलिबल, बक्सिङ, व्याडमिन्टन, एथलेटिक्स, कराँते, तेक्वान्दो, भलिबल, पौडीका स्पर्धा सञ्चालन हुनेछन् ।
बैठकले महिला फुटबलको २१ देखि चैत्र १ गते सम्म नवलपुरमा प्रशिक्षण गराउने र पुरुष फुटबल, तेक्वान्दो, एथलेटिक्स, पौडी, ब्याडमिन्टनको छनौट खेल फागुन २६ र २७ गते पोखरामा सञ्चालन गर्ने निर्णय गरेको छ ।
कराँते खेलको सोही मितिमा पर्वतमा छनौट खेल आयोजना गर्ने र महिला क्रिकेट छनौट फागुन २६ देखि २८ गते सम्म पोखरा गर्ने तथा बक्सिङको छनौट खेल २३ र २४ गते पोखरामा गर्ने निर्णय गरेको छ ।
सहभागी हुने खेलको बन्द प्रशिक्षणका लागि विभिन्न स्थान समेत तोकिएको परिषदले जनाएको छ ।
जस अनुसार तेक्वान्दो, कराँतेको बन्द प्रशिक्षण नवलपुरमा हुनेछ भने फुटबल, बक्सिङ, क्रिकेट, पौडी, र भलिबलको बन्द प्रशिक्षण पोखरामा सञ्चालन हुने भएका छन् ।
प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्माको अध्यक्षतामा सम्पन्न बैठकमा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, कार्यकारी सदस्य ऋषीराम गौतम, परिषदका सदस्य गिरमान गुरुङ, कार्यालय प्रमुख तोपलाल भुसाल लगायत विभिन्न ८ खेलका अध्यक्षको समेतको सहभागिता रहेको थियो ।