काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको नियमित साधारण सभा विवादका बीच सोमबार सम्पन्न भएको छ । ललितपुरमा बसेको एन्फाको नियमित साधारण सभा असन्तुष्ट पदाधिकारी तथा सदस्य संघलाई बाहिर राख्दै ‘लटरपटर’ गरि सम्पन्न भएको हो ।
एन्फाका बहुमत कार्यसमितिको असहमती र बी डिभिजन सहितका क्लब र जिल्ला संघको असन्तुष्टिका बाबजुत साधारण सभा सम्पन्न भएको घोषणा गरिएको छ । साधारण सभाले गत आर्थिक वर्षको बजेट र चालू आर्थिक वर्षको बजेट-कार्यक्रम पारित गरेको एन्फाले पत्रकार सम्मेलनमार्फत बताएको छ ।
कार्यसमितिमा निर्णय नभएको विषयलाई साधारण सभाको विषय सूचिमा समावेश गरिएको भन्दै एन्फाका बहुमत केन्द्रिय सदस्यले असन्तुष्टि राख्दै आएका थिए । गत आर्थिक वर्षको लेखा परिक्षण प्रतिवेदन सहमतीबिनै पास गरेर साधारण सभामा पेश गरिएको भन्दै एन्फाका १० केन्द्रिय सदस्यहरुले एन्फा मुख्यालयमा निवेदन दर्ता गराएका थिए । उनीहरुले एन्फाको पछिल्लो कार्यसमिति बैठकको निर्णय माग गर्दै कार्यसमितिबाट पारित नभएको विषयलाई साधारण सभामा नलैजान नेतृत्वसँग माग गरेका थिए ।
तर असन्तुष्ट पदाधिकारी, क्लब, जिल्लालाई बाहिर राख्दै एन्फाले साधारण सभाबाट विषय सूचि पारित भएको घोषणा गरेको छ । साधारण सभाको उद्घाटन सत्रमा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का सहित बहुमत कार्यसमिति सदस्यले बहिष्कार गरेका थिए ।
एन्फा उपाध्यक्ष दीर्घबहादुर केसी कुमारले कार्यसमितिको निर्णय बिना विषय सूचि पेश गरेर आयोजना गरिएको साधारण सभा अवैधानिक भएको बताएका छन् । ‘कार्यसमितिबाट पारित नभएको विषयलाई साधारण सभामा लैजाने अवैधानिक काम नेतृत्वबाट भएको छ ।’ उपाध्यक्ष केसीले भने, ‘सुरुवातदेखिनै कार्यसमितिलाई विश्वासमा लिएर नेतृत्वले काम गर्न सकेन । त्यसको निरन्तरता यस साधारण सभामा पनि देखिएको छ ।’
‘अध्यक्षले कार्यसमितिभित्र चलखेल गरेर, द्धन्द निम्त्याएर अघि बढ्न खोज्दा एन्फामा यो अवस्था आएको छ । यसले फुटबललाई दुर्घटनातर्फ अग्रसर गराउने देखिन्छ ।’ केसीले भनेका छन् ।
साधारण सभा अघि एन्फाका १० केन्द्रिय सदस्यले कार्यसमितिबाट निर्णय नभएका विषयलाई साधारण सभाको विषयसूचिमा राखिएको भन्दै असन्तुष्टि जनाएका थिए । उनीहरुले कार्यसमितिबाट निर्णय नभएका विषय विषयसूचिबाट हटाउन माग गरेका थिए । तर एन्फा नेतृत्वले असन्तुष्ट पक्षलाई बाहिर राख्दै साधारण सभाबाट विषयसूचि अनुमोदन भएको घोषणा गरेको छ ।