काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको नियमित साधारण सभा आगामी सोमबार बस्ने भएको छ ।
आन्तरिक विवादका कारण समयमा बस्न नसकेको नियमित साधारण सभा फागुन १४ गते बस्न लागेको हो ।
साधारण सभाले एन्फाको चालू आर्थिक वर्षको कार्यक्रम तथा बजेट पारित गर्ने मुल एजेण्डा रहेको छ । एन्फाको नियमित साधारण सभा असोजमा बस्नुपर्ने थियो । संघका केन्द्रिय अध्यक्षमाथि अविश्वासको प्रस्ताव आएपछि एन्फाको विशेष साधारण सभा भदौ २४ हेटौडमा बसेको थियो । अविश्वासको प्रस्ताव बिफल भएपछि लेखा परिक्षकको अनुमोदन गर्न एन्फाको विशेष साधारण सभा बैठक माघ ८ गते ललितपुरमा बसेको थियो ।
दुई वटा विशेष साधारण सभा बैठक सम्पन्न गरेको एन्फाले नियमित साधारण सभा फागुनमा बोलाएको हो । साधारण सभाले चालू आर्थिक वर्ष २०८०÷८१ को वार्षिक कार्यक्रम र बजेट पारित गर्नेछ । नियमित साधारण सभा बस्न नसक्दा यस वर्ष फुटबलका कुनैपनि कार्यक्रम सार्वजनीक भएका छैनन् ।
वार्षिक कार्यक्रम तय गर्न एन्फाको गत बिहीबार कार्यसमिति बैठक बसेको थियो । आफुहरुसँग छलफलनै नगरि वार्षिक कार्यक्रम पारित गर्न कार्यसमिति बैठकमा पेश गरिएको भन्दै बहुमत सदस्यले बैठकको बीचमा अनुपस्थित भएका थिए । नेतृत्वले वार्षिक कार्यक्रमको नाममा आगामी आर्थिक वर्षको समेत बजेट, कार्यक्रम पारित गर्न खोजेको भन्दै कार्यसमिति सदस्यको आपत्ति जनाएका थिए ।
त्यसपछि चालू आर्थिक वर्षको बजेट र सन् २०२४ को क्यालेन्डर पारित गर्ने निर्णय कार्यसमिति बैठकले गरेको एन्फाले प्रेस बिज्ञप्तिमार्फत जनाएको थियो । एन्फाले सार्वजनीक गरेको निर्णयमा आफुहरु सहमत नभएको भन्दै केही कार्यसमिति सदस्यले मुख्यालयमा पत्र दर्ता गराएका छन् ।