काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले एक वर्षको वार्षिक कार्यक्रम सहितको क्यालेन्डर पारित गरेको छ ।
गत बिहीबारबाट काठमाडौंमा सुरु भएको कार्यसमितिले एक वर्षको क्यालेन्डर पारित गरेको हो ।
एन्फा प्रवक्ता सुरेश शाहका अनुसार असारसम्मको कार्यक्रम सहितको बजेट र एक वर्षको क्यालेन्डर पारित गरिएको हो ।
कार्यसमितिका बहुमत सदस्यले चालू आर्थिक वर्षको मात्र कार्यक्रम र बजेट पारित गर्नुपर्ने अडान राखेका थिए । आगामी आर्थिक वर्षको समेत बजेट यही वर्ष पारित गरेर आफुहरुलाई छल्न खोजेको भन्दै उनीहरुको असहमती थियो ।
आफुहरुसँग छलफलनै नगरि चालू तथा आगामी आर्थिक वर्षको कार्यक्रम तथा बजेट पारित गर्न खोजेपछि बहुमत कार्यसमिति सदस्य बैठकमा जानै छाडेका थिए ।
बहुमत कार्यसमिति सदस्यनै बैठकमा जान छाडेपछि एन्फाले असारसम्मको बजेट तथा कार्यक्रम पारित भएको र सन् २०२४ अर्थात अर्को वर्षको वार्षिक खेल तालिका क्यालेन्डर कार्यसमितिबाट पारित भएको जानकारी दिएको छ ।
पारित भैसकको कार्यक्रम निर्माणका लागि भन्दै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा ५ सदस्यीय बजेट तथा कार्यक्रम निर्माण तथा सहयोग समिति गठन गरेको जानकारी एन्फाले गराएको छ । समितिमा उपाध्यक्ष दीपक खतिवडा, विराजजंग शाही, दिर्घबहादुर केसी कुमार र रविन्द्र चन्द सदस्य छन् ।
कार्यसमिति बैठकले फागुन १४ गते हुने नियमित साधारण सभाको अनुमानित बजेट ४६ लाख ४२ हजार ४ सय ६० रुपैयाँ पारित गरेको छ ।
बैठकका लागि २९ वटा एजेण्डा प्रस्ताव गरिएको थियो । तर मात्र ६ वटा एजेण्डाको निर्णय प्रस्तुत गर्दै बैठक सकिएको जानकारी एन्फाले गराएको छ ।