काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपले जुडो खेलाडी पुनम श्रेष्ठको उपचार खर्च प्रकृया पूरा भएको ४८ घण्टामा निकासा गरिएको बताएको छ ।
चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्ने क्रममा घाइते भएकी पुनमको उपचार खर्च प्रकृया पुरा भएको दुई दिनमै निकासा गरिएको राखेपको जानकारी दिएको हो ।
श्रेष्ठले एसियाली खेलकुदमा खेल्ने क्रममा दायाँ खुट्टाको घुडाको एसीएल टियरको शल्यक्रिया गर्नु पर्ने भएकोले राखेपमा माघ ४ गते निवेदन दर्ता गराएकी थिईन् ।
'निवेदन दर्ता गराउदा ठाडो निवेदन बाहेक अन्य आवश्यक कागजात केहि थिएन ।' राखेपले भनेको छ, 'आर्थिक नियमावली अनुसार ठाडो निवेदनको भरमा कसैलाई पनि भुक्तानी निकासा दिन नमिल्ने भएकोले नेपाल जुडो संघमार्फत पुनमलाई ताकेता गरिएको थियो ।'
'राखेपको ताकेतापछि मात्र बिलहरु प्राप्त भएर फागुन १ गते प्रकृया पूरा भएको थियो । सोही दिन राखेपका सदस्य–सचिवले पुनम श्रेष्ठको उपचार खर्चको फाइल सदर गर्नु भएको थियो । फाइल सदर भएको भोलिपल्ट श्रेष्ठलाई उपचार खर्च वापत १ लाख ४७ हजार ५९ रुपैयाँ परिषद्ले उपलब्ध गराइसकेको छ ।' राखेपले भनेको छ ।
'सीमित श्रोत र साधनका बावजुद खेलाडीलाई अवसर प्रदान गर्नु पर्छ भन्ने मान्यताका साथ विभिन्न राष्ट्रिय तथा विश्वकै ठूलो खेलकुद महोत्सव ओलम्पिकदेखि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि विगतमा पहल गरेकै हो र आगामी दिनमा त्यसले निरन्तरता पाउने नै छ । खेलाडीको उपचारमा पनि परिषद गम्भीर छ ।' राखेपले भनेको छ, 'अनुदानमा स्थापित राष्ट्रिय खेलाडी कल्याणकारी कोषमार्फत पनि पूर्व र वर्तमान खेलाडीलाई उपचार सहयोग प्रदान गर्दै आएको सर्वविदिदै छ । परिषद्कै अग्रसरतामा खेलाडीकै हितलाई ध्यानमा राखी नेपालमै पहिलोपटक खेलकुद विमा लेख जारी भइससेको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले जितेको पदकको नगद पुरस्कारका लागि पहिलोपटक नियमावली मै व्यवस्था गरिएको छ ।'
'खेलाडीको उपचार जस्तो बिषयलाई परिषद् सदैव संवेदनशिल रहेको र यस्तो बिषयमा खेलाडी र संघको समन्वय नहुँदा पैदा हुने भ्रमपुर्ण प्रचारले कसैलाई हित नहुने सम्बन्धित सबैमा ध्यानाकर्षण गर्दै यस्तो शैलीप्रती सबै खेलाडी, संघ तथा सबै संचारजगत सजग रहनु पर्दछ ।' राखेपको भनेको छ ।