काठमाडौं । फिफ्टिन्स रग्वी च्याम्पियनसिपको उद्घाटन खेलमा गोर्खाली र पुलिस क्लब भिड्ने भएका छन् । नेपाल रग्वी संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मलनको आयोजना गरेर प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो ।
प्रतियोगिताको पहिलो दिन उद्घाटन खेलमा गोर्खाली रग्वी र नेपाल पुलिस क्लब तथा दोस्रो खेलमा एपीएफ क्लब नेपाल र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
आगामी आईतबार सुरु हुने प्रतियोगिता बुधबार र शनिबार गरि तीन दिन सञ्चालन हुनेछ । प्रतियोगितामा गोर्खाली, पुलिस, आर्मी र एपीएफ गरि चार क्लब सहभागी छन् । रग्वी संघले हरेक वर्ष राष्ट्रिय स्तरको फिफ्टिन्स रग्वी प्रतियोगिता सञ्चालन गर्दै आईरहेको छ । खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको ट्रफीलाई यस वर्षदेखि रनिङ्ग ट्रफीको रुपमा सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको यसअघिको चारै संस्करण विभागीय टिम आर्मीले जितेको छ ।
प्रतियोगिताको विजेताले ट्रफी, मेडल सहित १ लाख र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुलाई ५ हजार रुपैयाँ सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
सहभागी टिमले एक महिना अघि देखिनै प्रशिक्षण सुरु गरेको संघका महासचिव गोविन्द घिमिरेले जानकारी दिए । रग्वी प्रशिक्षक विजेलाश सनले सहभागी क्लबका खेलाडीलाई प्रशिक्षण दिईरहेको घिमिरेले बताए ।