काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठक स्थगित भएको छ ।
बिहीबार एन्फा हेडक्वार्टरमा बसेको एन्फा कार्यसमितिको बैठक शुक्रबारसम्मका लागि स्थगित भएको हो ।
फागुनमा आएर चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रम पारित गराउने बैठकको एजेण्डा थियो । तर कार्यसमिति सदस्यहरुले गत आर्थिक वर्षको अडिट रिपोर्ट माग गरेपछि बैठक स्थगित भएको हो ।
‘चालू आर्थिक वर्षको बजेट पास गर्ने एजेण्डा थियो । सदस्यहरुले गत वर्षको अडिट रिपोर्ट हेरौं भनेपछि अध्यक्षले बैठक स्थगित गरौं भन्नु भयो ।’ कार्यसमितिका एक सदस्यले भने ।
कोरम नपुगेपछि बैठक ढिला गरि सुरु भएको थियो । आफ्ना एजेण्डा बैठकमा समावेश नभएको भन्दै सदस्यहरुले हस्ताक्षर गर्न नमानेपछि कोरम पुगेको थिएन । त्यसपछि कार्यसमिति सदस्य पेमा लामा र रविन चन्दले माग गरेका एजेण्डालाई समावेश गरेर बैठक सुरु गरिएको थियो ।
उपाध्यक्ष दावा लामा अनुपस्थित
बैठकमा उपाध्यक्ष दावा लामा भने अनुपस्थित थिए । पुरानो लागु औषत मुद्धा ब्युँतिएपछि लामा सार्वजनीक रुपमा देखिएका छैनन् । प्रहरी स्रोतले उनको खोजी भैरहेको बताएको छ ।