काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको लोगो तथा रनिङ ट्रफी सार्वजनिक गरिएको छ ।
प्रतियोगिता सम्बन्धी जानकारी गराउन आइतबार आयोजित पत्रकार सममेलनमा राखेपका उपाध्यक्ष एवं प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन कार्यदलका संयोजक शिव कोइरालाले प्रतियोगिताको लोगो र रनिङ ट्रफी सार्वजनिक गरेका हुन् । प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, टेबलटेनिस र ब्याडमिन्टन गरी ४ खेलको प्रतिस्पर्धा हुनेछ । भलिबलमा छात्र टोलीको मात्र सहभागिता रहने छ । एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, ब्याडमिन्टन त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल, टेबलटेनिस लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र र भलिबल जावलाखेलस्थित राष्ट्रिय खेलकुद प्रशिक्षण केन्द्रमा खेलाइने छ ।
प्रतियोगितामा विभिन्न १० विश्वविद्यालयका २ सय ८० खेलाडी सहभागी हुने छन् । एथलेटिक्समा १२, भलिबलमा १ तथा टेबलटेनिस र ब्याडमिन्टनमा समान ५–५ गरी जम्मा २३ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
पत्रकार सम्मेलनमा उपाध्यक्ष कोइरालाले सम्बन्धित विश्वविद्यालयका प्रतिनिधिसंगको छलफलपछि ४ खेल समावेश गरिएको बताउदै विश्वविद्यालयहरुले पनि खेलकुदलाई महत्व दिउन् भन्ने उद्देश्यले राखेपले प्रतियोगिताको थालनी गरेको बताए ।
खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले सहभागी सबै विश्वविद्यालयले छनोट प्रतियोगिता सम्पन्न गरिसकेको बताए ।
दुईदिने प्रतियोगिता सञ्चालन गर्न करिब ४० लाख रुपैयाँ खर्च हुनेछ । पत्रकार सम्मेलनमा राखेपका निमित्त सदस्य–सचिव प्रकाशकुमार कसारी, राखेपका सदस्य अञ्जन धमला, प्रशासन विभाग प्रमुख प्रेमबहादुर मल्ल, प्रचार प्रसार शाखाका प्रमुख खुशराज दाहाल, कानून शाखाका प्रमुख नारायणराज अर्याललगायतको उपस्थिति रहेको थियो ।