काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य-सचिव टंकलाल घिसिङ मंगलबार जापानको टोकियो भ्रमणमा निस्किएका छन् ।
जापान स्पोर्ट्स काउन्सिल जेएससीको निमन्त्रणमा सदस्य-सचिव घिसिङ, राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका निर्देशक कृष्णप्रसाद तिमिल्सिना र सदस्य–सचिवको सचिवालयकी सुलोचना सिजाख्वासहित ३ सदस्यीय टोली जापान प्रस्थान गर्न लागेको हो ।
जापानमा रहँदा राखेप र जेएससीका पदाधिकारीबीच दुई पक्षको सहकार्य सम्बन्धमा हुने बैठकमा सदस्य–सचिव घिसिङ सहभागी हुने छन् । साथै जेएससी मातहतका हाइ पर्फमेन्स सेन्टर, जापान स्पोर्ट्स साइन्स, स्पोर्ट्स फर टुमोरो कार्यक्रमको अवलोकन पनि गर्ने छन् ।
त्यसपछि सदस्य–सचिव घिसिङ दक्षिण कोरियाको सिओलमा फेब्रुअरी ६ तारिखमा हुने ग्लोबल स्पोर्ट्स टुरिजम प्लेनममा सहभागी हुनुका साथै कार्यक्रमलाई सम्बोधन समेत गर्ने छन् । सिओलको कार्यक्रममा सदस्य–सचिव घिसिङ मात्र सहभागी हुने छन् ।
जापान प्रस्थान गर्नुअघि सदस्य–सचिव घिसिङले राखेपका संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट गरी भ्रमणको उद्देश्य र एजेन्डा बारे जानकारी गराएका थिए ।
भ्रमणको विषयमा सदस्य–सचिव घिसिङले राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई पनि भेट गरी जानकारी गराएका छन् ।