काठमाडौं । अखिल नेपाल कबड्डी संघले नेपालमा पहिलोपटक फ्रेन्चाइज आधारित लिग गर्ने तयारी गरेको छ ।
नेपाल कबड्डी लिग नाम दिइएको प्रतियोगिता जुलाइमा गर्ने गरी संघले तयारी थालेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका महासचिव अरविन्दकुमार झाले जानकारी गराए ।
भारतपछि विश्वमै नेपाल कबड्डीको फ्रेन्चाइज लिग आयोजना गर्ने दोश्रो राष्ट्र भएको आयोजकले जनाएको छ ।
त्यसका लागि आयोजक कबड्डी संघकी अध्यक्ष तुलसी थापा र एस्ट्रोनिक्स म्यानेजमेन्ट प्रा।लि।का अध्यक्ष अमित बेगानीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
अध्यक्ष थापाले प्रतियोगिताको आयोजनाबाट नेपालमा कबड्डी खेलको ब्यवसायीकतामा टेवा पुग्ने बताईन् ।
कबड्डीमा नेपाल सम्भावना बोकेको देश हो । पछिल्लो एसियाडमा नेपालको महिला टिमले कबड्डीमा ऐतिहासिक काँस्य पदक जितेको थियो ।